वीरगंज । बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा "समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता भाग-२" हुने भएको छ ।
बिजयबस्ती फुटबल आयोजक समितिको आयोजनामा असोज ९ देखि असोज २६ सम्म संचालन हुने खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
पर्साको ग्रामीण क्षेत्रमै अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार राशिको उक्त खेलमा प्रथम स्थान प्राप्त गर्ने टीमले रु. २ लाख नगद सहित शील्ड र प्रमाणपत्र, द्वितीय हुने टीमले रु. १ लाख नगद सहित शील्ड र प्रमाणपत्र, खेलभरकै उत्कृष्ट खेलाडीले रु. २० हजार, सर्वाधिक गोलकर्ताले चांदीको जुत्ता र उत्कृष्ट गोल किपरले रु. १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बिजयबस्तीको खेल मैदानमा संचालन हुने खेलका लागि फिल्ड मर्मत तथा सहयोग संकलनको कार्य तिब्र रुपमा भइरहेको आयोजक समितिका अध्यक्ष झलक श्रेष्ठले बताउनु भयो । ठोरी गाउँपालिकाको कार्यालय तथा केही संघसंस्थाहरुले अहिले तयारीका लागि बिशेष सहयोग गरिरहेको आयोजक समितिका मिलन श्रेष्ठले बताएका छ्न ।
साबिक निर्मलबस्तीका पुर्व प्रधानपञ्च स्व. राम बहादुर श्रेष्ठले तत्कालीन कठिन अवस्थामा पनि शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षामा विशेष पहल गरि गाउँवस्तीको पूर्वाधार बिकास तथा गाउँवस्तीलाई स्थायीत्व दिने कार्यमा उल्लेखनीय कार्य गरेको हुदा वहॉको योगदानलाई बिजयवस्तीका युवाहरुले उच्च मुल्याङ्कन गर्दै वहॉकै स्मृतिमा " समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप” खेलको आयोजना गर्न लागिएको सन्तोष श्रेष्ठले बताए ।