पर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको १५औँ गाउँसभा अधिवेशन मिति २०८२ आषाढ ९ गते सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ, जसमा समावेश योजनाहरू समावेशी, व्यावहारिक र विकासमुखी रहेका छन्।
गाउँपालिकाले आगामी वर्षका लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँको बजेट विनियोजन गर्दै ‘एक गाउँ एक उद्यम’ कार्यक्रमलाई उच्च प्राथमिकता दिने जनाएको छ। गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले उद्यमशीलता, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा आधारित कार्यक्रमहरूले गाउँको समुचित विकास सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
उपाध्यक्ष ममता महत्तोले “शिक्षामा 'खेल्दै सिक्दै' कार्यक्रम र प्राविधिक शिक्षामा जोड दिइने” बताउँदै नयाँ पुस्तालाई व्यवहारिक शिक्षामा अभ्यस्त गराउने योजनाबारे जानकारी दिइन्।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले “गाउँपालिकाको सेवा प्रवाह प्रभावकारी बनाउँदै बेरुजु न्यूनीकरणमा विशेष ध्यान दिइने” धारणा राखे।
नीति तथा कार्यक्रमका अन्य प्रमुख झलकहरु यसप्रकार छन् —
पटेर्वा सुगौलीको आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्दै रिफरल सेन्टरको रुपमा कार्यान्वयन
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता, पशु बीमा पनि यथावत्
कृषि सिँचाइका लागि पोल, तार, ट्रान्सफर्मरको व्यवस्था, अर्गानिक कृषिमा जोड
आधुनिक कृषि बजार तथा कोल्ड चेम्बर स्थापना गरी कृषि उपजको बजारिकरण
आन्तरिक राजस्व वृद्धिमा विशेष जोड, मुख्य सडक संजाल कालोपत्रे
विषयगत शिक्षक व्यवस्थापनमा पहल
यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले गाउँपालिका विकासको नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ। नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबैको सहभागिता आवश्यक रहेको गाउँसभा मार्फत सन्देश दिइएको छ।