जनकपुरधाम । मधेश प्रदेश सरकार बजेट विवादमा एकपछि अर्को गर्दै फस्दै गएको छ । पछिल्लो घटनाक्रममा सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले छिमेकी मुलक भारतमा बलात्कार अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका विवादास्पद बाबा आशाराम बापूको नाममा बजेट विनियोजन गरेको खुलासा भएको छ ।
सार्वजनिक भएको रातो किताबअनुसार मधेश सरकारको समाज कल्याण मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिका-१९ स्थित 'सन्त श्री आशाराम बापू योग वेदान्त सेवा समिति' नामक संस्थाको नयाँ तथा अधुरो भवन निर्माणको स्तरोन्नति शीर्षकमा जम्मा ३० लाख रुपैयाँ छुट्याएको छ ।
यीमध्ये, १५ लाख रुपैयाँ खेलकुद मन्त्रालयद्वारा र बाँकी १५ लाख रुपैयाँ सामाजिक विकास इकाइ कार्यालय जनकपुरधाम मार्फत विनियोजन गरिएको हो । उल्लेखित आशाराम बापू भारतका चर्चित कथावाचक हुन् । उनलाई सन् २०१८ मा १६ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै भारतीय अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।
त्यसयता, भारतको धार्मिक र सामाजिक क्षेत्रमा उनी निकै विवादित र बहिष्कृत पात्र बनेका छन् । व्यक्तिको नाममा संस्थाले रकम माग्नु र प्रदेश सरकारले छुट्याउनु नै नैतिक दृष्टिले लापरबाही हो ।
खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले यसबारे असहमति जनाएका छन् । उनले भने, 'आशाराम बापूकै नाममा मिल्दैन । कुनै संस्थाहरू कसैको नाममा दर्ता भएको होला, कसैले मागेको होला । मलाई पनि याद भएन । सबै योजना हामीले हाल्ने होइन । त्यस्तो योजना छ भने चल्दैन, चलाउन पनि हुँदैन ।' मधेश प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो ।
तर, त्यसलगत्तै बजेटमाथि कुनै विस्तृत बहस हुन नपाउँदै संसद असार ११ गते अनिश्चितकालका लागि स्थगित गरिएको छ ।