महोत्तरी । महोत्तरीमा छोराले गरेको ‘नाबालिका बलात्कार र हत्या’ जस्तो जघन्य अपराधलाई लुकाउन बुवा–आमाको समेत मिलेमतो रहेको खुलासा भएको छ ।
घटना भएको चार वर्ष सात महिनासम्म फरार रहेका बुवा–आमालाई महोतरी प्रहरीले पक्राउ गरेर यसको खुलासा गरेको हो । प्रहरीका अनुसार घटना ०७७ मंसिर ७ गतेको हो ।
बर्दिबास नगरपालिका–१४ मा ६ वर्षीया गुलावसा खातुनको बलात्कारपछि हत्या भएको थियो । बर्दिबास–१४ का अरुणकुमार साहले नाबालिकालाई ललाइफकाइ घर लगेर बलात्कार गरेका थिए ।
त्यसपछि शव बोरामा हालेर झाडीमा लुकाउन आमा–बुवासमेतले सघाएका थिए । घटनापछि अरुणकुमार साह तत्काल पक्राउ परे पनि उनका बुवा ६० वर्षीय राजकिशोर साह र आमा ५१ वर्षीया शुशिला देवी भारततर्फ भागेका थिए ।
आफन्तलाई भेट्न नेपाल फर्किएका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माले बताए ।
प्रहरी अनुसन्धानमा घटनामा परिवारका तीनै जनाको भूमिका प्रस्ट भएको छ । ‘छोराले बलात्कारपछि बालिकाको हत्या गरेपछि प्रमाण लुकाउन बोरामा राखी झाडीमा फाल्न बुबाआमाले सघाएका थिए,’ प्रहरी उपरीक्षक शर्माले भने ।
पक्राउ परेका राजकिशोर र शुशिला देवीलाई अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा महोतरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अपराध लुकाउन परिवारकै संगठित संलग्नता भएको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ । ‘छोराको अपराध ढाकछोप गर्न बुवा–आमाले यसरी मिलेमतो गर्लान् भन्ने कल्पना थिएन,’ एक स्थानीयले भने ।