सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको हत्या प्रकरणको पटाक्षप भएको छ । हत्या आरोपमा डाक्नेश्वरी–९ की २१ वर्षीया तुलसी देवी सरदार पक्राउ परेकी छिन् ।
सामान्य सांस्कृतिक सहकार्यका रूपमा सुरु भएको उनीहरुको सम्बन्ध क्रमशः अस्वीकृत प्रेम र आरोप–प्रत्यारोपमा बदलिँदा ज्यान जाने अवस्थामा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार राजकुमार र तुलसी दुवै स्थानीय कलाकार हुन् । उनीसँग लामो समयदेखि संगतमा थिए । तुलसीका श्रीमान लामो समयदेखि विदेशमा छन् भने राजकुमार पनि विवाहित हुन् । कलाकार भएका कारण विभिन्न सांस्कृतिक कार्यक्रममा बारम्बार भेट हुँदा उनीहरूबीच निकटता बढेको थियो ।
स्थानीयहरूले समेत यी दुईको सम्बन्धबारे आआफ्नै अड्कलबाजी गर्दै आएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार, करिब तीन साताअघि उनीहरू एकान्त स्थानमा बसेर मदिरा सेवन गरेका थिए । त्यसबेला राजकुमारले आफनो इच्छा विपरित बलात्कार गरेको तुलसीको आरोप छ ।
त्यसपछि बलात्कारको आरोपको पृष्ठभूमिमा दुवैबीच मनमुटाव चुलिएको थियो । घटनाको तीन दिनअघि राजकुमारले ‘जरुरी काम छ’ भन्दै फोनमा तुलसीलाई बोलाए । तुलसीले आफूमाथि फेरि बलात्कारको प्रयास हुन सक्ने शंका गरेकी थिइन् । सोही कारण उनले आत्मरक्षाका लागि चक्कु बोकेर गएको प्रहरीको भनाइ छ।
त्यहाँ पुगेपछि मदिरा सेवन गर्न दबाब परेको र उनले पिएको बहाना गर्दै रक्सी फालेको बताइएको छ । जब राजकुमारले फेरि नजिकिन खोजे, बलात्कारको प्रयास गरे– तुलसीले लुकाएको चक्कु निकालेर छाती र घाँटीमा प्रहार गरिन् ।
घटनास्थलमै ज्यान गएको पुष्टि भएपछि उनले राजकुमारको शव करिब ५० मिटर घिसारेर लबका पोखरीको डिलमा छाडेर भागेकी थिइन् । बिहीवार बिहान राजकुमारको शव अर्धनग्न अवस्थामा फेला परेको हो ।
सप्तरीका डिएसपी जीतेन्द्र कुमार बस्नेतका अनुसार पक्राउ परेकी तुलसीले प्रारम्भिक बयानमै घटनाको जिम्मेवारी स्वीकार गरेकी छन् । उनको साथबाट मृतकको मोबाइल र हत्या गर्न प्रयोग गरिएको चक्कु समेत बरामद गरिएको छ ।
शुक्रवार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार ‘यो घटनाले गाउँमा गोप्य प्रेम सम्बन्ध र त्यसबाट हुने तनावलाई उजागर गरेको छ ।’ स्थानीयहरूले घटनापछि गाउँमा असाध्यै सनसनी फैलिएको बताएका छन् ।
प्रहरीले अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।