पर्सा । सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिक उत्सवको अवसरमा पर्सामा विविध सामाजिक कार्यहरू सम्पन्न भएका छन्। मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपरा पशुपतिनाथ मन्दिरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
यसै अवसरमा, असार १६ गते मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका सदस्यहरूले जिल्ला रेडक्रस सोसाइटी पर्साको सहकार्यमा नं.१३ गणको परिसरमा रक्तदान कार्यक्रमको सुरुवात गरे।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तथा नं.१३ गणका गणपति राधेश्याम धिमाल, जिल्ला रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल बीरगञ्जका संचालक दिलिप कार्की, इन्नोभेटिभ संस्थाका संचालक कमल चौगाई, लायन्स क्लब अफ बीरगञ्जका अध्यक्ष डि.एन. अग्रवाल तथा एलाईड युथ सोसाइटीका ओम कुमार झालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेका थिए। हाल बिरगंज क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको र अस्पतालहरूमा रगतको अभाव देखिएको अवस्थामा यो कार्यक्रमले रगत आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।