

वीरगंज । नेपाल–भारत रेल सेवा सुरुवातको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ ।बुधबार बिहान हिम्ड टर्मिनल प्रालीको एक कार्गो रेल खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर नेपाल आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।योसँगै नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ ।२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिंदै आए पनि सन् २०२१ मा भएको दुई देशबीचको पुनरावलोकन सम्झौता पछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको हाे ।भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको अधिकारीहरूले बताएका छन् ।