‘कांटा लगा’ गीतबाट चर्चामा आएकी अभिनेत्री शेफाली जरीवालाको अकस्मात् निधनले बलिउड उद्योगमा शोकको लहर फैलिएको छ । ४२ वर्षीया उनको मृत्युको कारण कार्डियक अरेस्ट भएको प्रारम्भिक जानकारी आएको थियो ।
यो घटना २७ जुन २०२५ को राति करिब १ बजे मुम्बईस्थित उनको घरमा भएको थियो । मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ, तर मुम्बई पुलिसले प्रारम्भिक अनुसन्धानमा यसलाई प्राकृतिक मृत्यु मानेको छ ।
शेफालीको मृत्युको खबरले सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ, विशेषगरी उनले प्रयोग गरिरहेको एंटी–एजिंग औषधि र जीवनशैलीलाई लिएर । यही सन्दर्भमा योगगुरु बाबा रामदेवले एक विशेष अन्तर्वार्तामा आफ्नो विचार व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मानवको प्राकृतिक आयु १०० वर्ष होइन, बरु १५० देखि २०० वर्षसम्म हुन्छ । तर, हाम्रो गलत जीवनशैली र खानपानले हाम्रो मस्तिष्क, हृदय, आँखा र कलेजोमा अनावश्यक बोझ थपिएको छ ।’
शेफालीको सन्दर्भ जोड्दै रामदेव भन्छन्, ‘शेफालीको हार्डवेयर (शारीरिक संरचना) ठिक थियो, तर उनको सफ्टवेयर (जीवनशैली र खानपान) खराब थियो । यदि उनले प्राकृतिक जीवनशैली र आयुर्वेदिक उपायहरू अपनाएको भए, उनी १०० वर्षसम्म जवान रहन सक्थिन् ।’
एंटी–एजिंग औषधिको बहस
शेफाली जरीवालाले विगत ६ वर्षदेखि जवान देखिनका लागि विशेष एंटी–एजिंग उपचार लिइरहेकी थिइन्, जसमा ग्लूटाथियोन र भिटामिन सी को प्रयोग समावेश थियो । उनको व्यक्तिगत चिकित्सकका अनुसार, यो उपचारका लागि उनले विशेष आहार र औषधिहरूको सेवन गर्नुपर्थ्यो ।
मुम्बई पुलिस स्रोतका अनुसार, शुक्रबार राति उनले आफ्नो नियमित औषधि लिएकी थिइन् । र, दिउँसो एंटी–एजिंग औषधिको इन्जेक्सन लिएपछि उनको रक्तचाप अचानक कम भयो र उनी बेहोस् भएकी थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषित गरे ।
यो घटनाले एंटी–एजिंग औषधिहरूको प्रयोग र तिनको सम्भावित जोखिमबारे ठूलो प्रश्न उठाएको छ । बाबा रामदेवले यस्ता महँगा र स्वास्थ्यलाई हानि पुर्याउने औषधिहरूको सट्टा प्राकृतिक उपायहरू अपनाउन सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आयुर्वेद र योगले मानिसलाई स्वस्थ र जवान राख्न सक्छ । गलत खानपान र जीवनशैलीका कारण मानिसहरू कम उमेरमा मृत्युको शिकार भइरहेका छन् ।’
बिग बोस र शेफाली
शेफाली जरीवाला बिग बोस १३ की चर्चित प्रतियोगी थिइन् । उनको ‘कांटा लगा’ गीतले उनलाई रातारात स्टार बनाएको थियो । अचानक निधनले उनका प्रशंसक र बलिउड उद्योगमा ठूलो शोक उत्पन्न भएको छ । उनको मृत्युको खबरपछि सामाजिक सञ्जालमा धेरै सेलिब्रेटी र प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बाबा रामदेवको सुझाव
बाबा रामदेवले लामो र स्वस्थ जीवनका लागि निम्न उपायहरू सुझाएका छन् ।
प्राकृतिक आहार : ताजा फलफूल, तरकारी, साबुत अन्न र जडीबुटीहरूमा आधारित भोजन ।
योग र प्राणायाम : नियमित योग र प्राणायामले हृदय र मस्तिष्कलाई स्वस्थ राख्छ ।
जीवनशैली : तनावमुक्त जीवन, पर्याप्त निद्रा, र सकारात्मक सोच ।
आयुर्वेदिक उपचार : रासायनिक औषधिको सट्टा आयुर्वेदिक जडीबुटी र प्राकृतिक उपचार अपनाउनु ।
उनले यो पनि भने कि यदि शेफालीले यी उपायहरू अपनाएको भए, उनको मृत्यु टर्न सक्थ्यो । उनले सिद्धार्थ शुक्लाको मृत्युलाई पनि उदाहरण दिँदै भने, ‘हामीले हाम्रो जीवनशैली र खानपानमा सुधार गर्नुपर्छ । हाम्रो डीएनए र प्राकृतिक स्वभावले हामीलाई लामो समयसम्म बाँच्न दिन्छ, तर हामीले आफैंलाई बर्बाद गरिरहेका छौं ।’