वीरगंज । आज असोज ३ गते राष्ट्रिय संविधान दिवसको अवसर पारेर वीरगञ्ज कारागारभित्र रहेका कैदीहरूमध्ये २४ जनालाई आममाफी दिइएकाे छ । सविधान दिवसका अवसरमा देशभरका ५३१ कैदीलाई माफी गरेको छ । जसमध्ये वीरगञ्ज कारागारबाट २३ जना पुरुषसहित १ महिला कैदीलाई माफी गरी रिहा गरेको हाे । विभिन्न मुद्दामा सजाय काटिरहेको कैदीहरूमध्ये दिवसकाे अवसरमा वीरगञ्ज कारागारबाट कैद मिनाहाका लागी सिफारिस गरिएका ३० जना कैदीहरूमध्ये २४ जना कैदीको बाँकी कैद मिनाहा भएको छ ।
कैद मिनाहा भएका कैदी र निजहरूका आफन्तजनहरूले कारगार पुगेर फुलमालासहित टिका लगाई खुसीयाली मनाएको छन् । कैद मिनाहा भएका कैदीहरूले अबको बाँकी जीवन सुखद बिताउने र सरकारलाई धन्यवाद व्यक्त गदै कारागारबाट घर फकेका छन् । कैदीहरूकाे आम माफीका लागि असल चालचलन भएको, बानी ब्यवहारमा सुधार आएको, तोकिएको कैदको कम्तीमा ५० प्रतिशत भुक्तानी गरिसकेको, नकारात्मक सूचीमा परेका १९ प्रकारको मुद्दा बाहेकको हुनुपर्ने र आफू कैदमा रहेको मुद्दा अन्तिम भइसकेको हुनुपर्नेजस्ता न्यूनतम योग्यता भएको कैदीलाई रिहा गरिने गरेको छ ।
संविधान दिवसका अवसरमा वीरगञ्ज कारागारबाट २४ जनामध्ये कर्तव्य ज्यान तर्फ ७ जना, सवारी ज्यानतर्फ ५ जना, चाेरी मुद्दातर्फ ४ जना, नकवजनी चोरी मुद्दातर्फ २ जना, ज्यान मार्ने उद्योगतर्फ २ जना, डाँका मुद्दातर्फ २ जना, ज्यान तथा बहुविवाह तर्फ १/१ जना रहेको वीरगञ्ज कारागारले जनाएको छ ।नेपाल सरकारले यसअघि पनि संविधान दिवसको अवसरमा कारागारभित्र रहेका केही कैदीलाई रिहा गर्दै आएको थियो । वीरगञ्ज कारागारमा थुनामा रहेका १२४१ जना पुरुष र ७० जना महिला गरी १३११ जना कैदी र र ३ जना नाबालक रहेका थिए । जसमध्ये आज २४ जनाले आममाफी पाए।
अब वीरगञ्ज कारागारमा १२८७ कैदी रहेका छन् । जसमा १२१८ पुरुष, ६९ जना महिला र ३ जना नाबालक रहेका छन् ।विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका देशभरि ५३१ जना कैदीबन्दीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् । माफी पाएको वीरगञ्ज कारागारका कैदीहरू आजै घर फर्केका छन् ।