पर्सा । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नं. १ धोरेस्थित सडकखण्डबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। मिति २०८२ साउन १० गते साँझ करिब ६:३० बजे भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई प्रहरी चौकी धोरेबाट खटिएको नियमित गस्ती टोलीले रोकेर खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति पकाहा मैनपुर गाउँपालिका वडा नं. २ मधुबनी बस्ने २२ वर्षीय दिलिप कुमार सहनी रहेका छन्। उनले बोकेको निलो झोलाभित्र आलु र प्याजको भरमा लुकाइ राखिएको अवस्थामा Buprenorphine Injection I.P. 2ml (NOOPHIN) 150 एम्पुल, DIAZEPAM Injection I.P. 150 एम्पुल र Promethazine Hydrochloride Injection I.P. (PHENERGAN) 150 एम्पुल गरी जम्मा ४५० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले सहनीलाई लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरिया ल्याएको छ। उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमतिसमेत लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति र बरामद लागुऔषधलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।