पर्सा । किसानले भोगिरहेको मलखादको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै वाइसिएल (YCL) नेपाल पर्सा जिल्ला कार्यसमितिले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
देशभर ७७ वटै जिल्लामा सञ्चालन भइरहेको अभियान अन्तर्गत पर्सा जिल्लामा पनि किसानको समस्यालाई लिएर ज्ञापनपत्र बुझाइएको YCL नेपाल पर्साका जिल्ला अध्यक्ष दिपेन्द्र सिंह पटेलले जानकारी दिएका छन्।
ज्ञापनपत्रमा सरकारले पटक–पटक आश्वासन दिँदै आएको भए तापनि समयमै किसानलाई आवश्यक मल आपूर्ति गर्न नसकेको र त्यसले लाखौं किसानलाई संकटमा पारिरहेको उल्लेख गरिएको छ। साथै, पहुँचका आधारमा हुने असमान वितरण, दलाल र विचौलियाको संलग्नता तथा कालोबजारीले किसानको ढाड सेकिएको भन्दै YCL नेपालले गम्भीर आपत्ति जनाएको छ।
कृषि प्रधान देशमा मलखादको अभावलाई योजनाबद्ध षड्यन्त्रको संज्ञा दिँदै YCL नेपालले यस्ता गतिविधिलाई गम्भीर अपराधको रूपमा भर्त्सना गरेको छ।
ज्ञापनपत्रमा रासायनिक मलको तत्काल आपूर्ति, न्यायसंगत वितरण प्रणाली निर्माण र दीर्घकालीन समाधानका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा जिल्ला इञ्चार्ज पर्मानन्द कुमार, जिल्ला अध्यक्ष दिपेन्द्र सिंह पटेल, जिल्ला उपाध्यक्ष शिवशंकर गुप्ता, जिल्ला सहसचिव शा उर्या, महानगर इञ्चार्ज महेश पटेल, महानगर उपाध्यक्ष नेहाल शेख, महानगर सहसचिव राजा ठाकुर नितेशलगायतको उपस्थिति रहेको थियो।