काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन् ।
मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गरेका छन् । ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नागपञ्जमी वातावरण सन्तुलनको प्रतीकको पर्व भएको उनले उल्लेख गरेका छन् । ‘आज नागपञ्चमी: पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ’, उनले लेखेका छन् ।
प्रकृतिको संरक्षण गर्ने सन्देश नेपाली समाजको प्राचीन सभ्यता भएको प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् । ‘प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । ‘हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ, सबैलाई नागपञ्चमीको शुभकामना’, प्रधानमन्त्री ओलीले भने ।