पर्सा । "प्लास्टिक झोला प्रयोग नगरौं" र "म मन्दिर फोहर गर्दिन" जस्ता जनचेतनामूलक नारासहित लायन्स क्लब अफ वीरगंज परिवारले आज वीरगंजस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धार्मिक स्थलहरूको स्वच्छता र प्लास्टिकमुक्त वातावरण निर्माणमा समाजको ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले "सफा मन्दिर, सशक्त समाज" नारालाई मूर्तरूप दिन सरसफाइ सामग्री मात्र नभई, चेतनाको सन्देशसमेत हस्तान्तरण गरिएको बताए।
कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्ता लगायत क्लब सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिलाई सरसफाइ सामग्रीहरू हस्तान्तरण गर्नुका साथै मन्दिर परिसर सफा राख्ने प्रतिज्ञा गरेका थिए।
लायन्स डिस्ट्रीक 325 S अन्तर्गत संचालन गरिएको यो अभियानले धार्मिक आस्थासँगै स्वच्छता र पर्यावरणीय चेतना जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ।
स्थानीय श्रद्धालुहरूमा उत्साह थपिएको यस कार्यक्रमले वीरगंजलाई हराभरा, सफा र स्वस्थ शहर बनाउने अभियानमा नयाँ ऊर्जा थपिएको जनाइएको छ।