जनकपुर। सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुर्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि साथै खानेपानी र सिँचाइमा काम शुरु गरेका छन्।
समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुख्खा क्षेत्रको समस्या समाधानको लागि लाग्न अनुरोध गरेको अवस्थामा सुख्खा क्षेत्रको प्रतिकार्यमा वास क्लस्टर, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अन्तर्राष्ट्रिय संस्थाहरुले मधेशमा सुख्खाग्रस्त क्षेत्रमा स्थानीय साझेदार संस्थामार्फत प्रतिकार्य गरिरहेको एआइएनकी मधेश प्रदेश सम्पर्क व्यक्ति प्रमिल अधिकारी जानकारी दिइन्।
अधिकारीको अनुसार सेभ द चिल्डेन नेपालले सर्लाहीको इश्वरपुर नगरपलिका वडा १० मा दशहजार लिटर पानी ५३४ घरधुरीलाई वितरण गरेको, अक्सफाममार्फत रौतहटको चपुरमा २०० घरधुरी, सर्लाहीको हरिपुर, हरिवन र मलंगवामा २०० घरधुरीलाई सेलो ट्वेल र खानेपानी वितरण गरेको छ।
प्लान इन्टरनेसनल नेपालले धनुषा सविला नगरपालिकामा १००० घरधुरीलाई पानीको जार वितरण गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालले महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा क्रमशः ५५ र ३१४ घरधुरी साथै सर्लाहीको हरिपुर्वामा ९३ र रौतहटको माधव नारायणमा ४२ घरधुरीलाई साना सिँचाइ सहयोग गरेको छ।
स्लामिक रिलिफबाट रौतहटको राजपुर र चपुरमा १००० घरधुरी साथै बाराको महागडीमाइ र सुवर्णमा ५० घरधुरीलाई पुग्ने डिपबोरिङ गड्ने काम शुरु गरेको छ।
वाटर एडमार्फत सिराहाको लाहान नगरपालिकामा ३०० दलित बस्तीमा खानेपानीको लागि चापाकल र पाइप वितरण गरेको छ। एसएनभिले प्रदेशको खानेपानीको अवस्था बारे अध्ययन र अनुसन्धानमा सहयोग गरिरहेको छ साथै धनुषा र महोत्तरीको ५ पालिकामा डिपबोरिङको अध्ययन शुरु गरेको छ।
अन्तर्राष्ट्रिय संस्थाहरु पिपुल इन निड, एक्सन एड, गुड नेवर्स, युएमएन जस्ता संस्थाहरु योजना छनोट र स्थानीय तहसँग समन्वय भइरहेको छ।
साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा संचालनमा आएको छ।
खडेरी प्रभावित पर्साको विरंगज, बहुरडरमाइ, बाराको सिमसनगडी, रौतहटको परोहा नगरपलिका , सर्लाहीको कविलासी, सिराहाको लक्ष्मी पटहरी गाउँपालिका र सप्तरीको रुपनी, तिलाठी कोइलाडी र हनुमाननगरका १० पालिकामा लागू हुने यो कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ।
स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो परियोजनाबाट ८ हजार ३ सय ५५ घरधुरीका करिव ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्। कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।
साथै विश्व खाद्य कार्यक्रम मार्फत रौतहटको माधवनारायण नगरपालिका र सप्तरीको हनुमाननगर र तिलाठी कोइलाडीमा स्यालो ट्वेल, पम्पसेट, मोटपाइप बढ्ने कार्य शुरु गरेको छ।
अन्तर्राष्ट्रिय संस्थाहरुले मधेश प्रदेशमा सुख्खाग्रस्त क्षेत्रको तत्काल र दिर्घकालीन समस्या समाधानको लागि प्रदेश सरकार, स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन संग सहकार्य गर्दै स्थानीय साझेदार संस्थाहरु मार्फत काम भइरहेको र आगामी दिनहरुमा प्राथमिकता रहने छ। प्रदेश सरकारले दिर्घकालीन समस्या समाधानको लागि स्पष्ट नीति योजना ल्याउन आवश्यक छ।