पर्सा । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पर्सा जिल्लाका सुख्खा प्रभावित क्षेत्रका वास्तविक कृषकहरूको हितविपरीत निर्णय लिएको आरोप नेकपा माओवादी केन्द्र पर्साका नेता छोटेलाल यादवले लगाएका छन्।
उनले मन्त्रालयबाट वितरण गरिएको ट्युबवेल तथा बोरिङ योजनामा वास्तविक कृषकहरूलाई छोडेर पुँजीवादी, व्यवसायीक, र पहुँचवालालाई प्राथमिकता दिएको आरोप लगाउँदै गम्भीर असन्तोष व्यक्त गरेका छन्। "कृषि उत्पादन वृद्धिको नाममा आएको कार्यक्रम किसानका हातसम्म नपुग्दै केही धनाढ्य व्यक्तिहरूको आँगनमा सीमित भयो", नेता यादवले बताए।
नेता यादवका अनुसार, पर्साको सुख्खा क्षेत्रमा पानीको अभावकै कारण धान र अन्य बाली सुक्ने अवस्था रहे पनि, राहतस्वरूप आएको ट्युबवेल तथा बोरिङ जडान योजनाले उनीहरूलाई समेट्न सकेन। उहाँले प्रश्न गरे, “कहाँ, कसलाई, कुन आधारमा वितरण गरियो? यो सार्वजनिक गरिनुपर्छ।”
यादवले प्रदेश सरकारलाई कार्यक्रम पुनः समीक्षा गर्न आग्रह गर्दै कृषक हितमा कार्य गर्न सुझाव दिएका छन्। उनले भने, “हामी सधैं कृषकको पक्षमा छौं, यस्ता भेदभावकारी नीतिको विरोध गर्नेछौं। किसानको घाँटी रेटेर पुँजीवादीलाई सेवा दिनु अन्याय हो।”
प्रदेश सरकारले सार्वजनिक स्रोतलाई पारदर्शी ढंगले वितरण नगरेको भन्दै उनी प्रदेश सभामा समेत प्रश्न उठाउने चेतावनी दिएका छन्।
यस विषयमा मन्त्री सिंहको पक्षको कुनै प्रतिक्रिया प्राप्त भइसकेको छैन। तथापि, कृषकको गुनासो दिनप्रतिदिन बढ्दै गइरहेको छ।