पर्सा । सेवा, सुरक्षा र शान्तिका लागि खटिएको प्रहरी संगठनभित्रै भ्रष्टाचारको चपेटामा परिरहेको एक भयावह तथ्य पुनः सतहमा आएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी शाखाको जिम्मेवारी सम्हालिरहेका वरिष्ठ सई योगेन्द्र थापा दलाल र बिचौलिया संरक्षित भ्रष्टाचारमा गम्भीर रूपमा मुछिएका छन्।
थापाले सरकारी सेवामा निष्पक्षता र पारदर्शिताको पालना गर्नुको साटो उल्टै दलालहरूलाई संरक्षण गर्दै कार्यालयमा आपराधिक सञ्जाललाई प्रश्रय दिएका छन्। सेवा लिन आएका सर्वसाधारणहरूलाई थापाले विभिन्न बहानाबाजी र अवरोध सिर्जना गरेर सास्ती दिने गरेका छन्, भने दलालमार्फत आउने व्यक्तिहरूको काम सजिलै सम्पन्न गरिदिने गरेको स्थानीय स्रोतहरूको भनाइ छ।
थापाको आचरणले प्रहरी संगठनमा सेटिङ, कमिसन र पहुँचको राजनीतिलाई बल पुगिरहेको प्रस्ट देखिन्छ। सरुवा आदेश भइसकेको अवस्थामा पनि उनले आर्थिक चलखेल र पहुँचको प्रयोग गरेर पर्सा प्रहरी कार्यालयमै पद जमाइरहनु थप शंकास्पद विषय बनेको छ।
"बिचौलिया मेरो साथी हो, मलाई कोही केही गर्न सक्दैन," जस्ता अभिव्यक्ति दिएर थापाले प्रहरीको मर्यादा र अनुशासनमाथि नै प्रश्न उठाएका छन्। सादा पोशाकमा दलालको गाडी चढ्ने, उनीहरूकै भरमा व्यक्तिगत किनमेल गर्नेजस्ता कार्यशैलीले उनको दलालसँगको साँठगाँठ पुष्टि गर्दछ।
सई थापाको गैरजिम्मेवार, भ्रष्ट र अराजक व्यवहारले प्रहरी संगठनको छवि धमिल्याएको छ। यस्ता भ्रष्ट तत्वको तत्काल छानबिन गरी कारबाही नभएमा पर्सा प्रहरी कार्यालय दलाल र बिचौलियाको अखडामा रूपान्तरण हुने खतरा बढ्दो छ। प्रहरी संगठनभित्र शुद्धीकरणको खाँचो अब अपरिहार्य भइसकेको छ।