पर्सा । सार्वजनिक सेवा, विकास र पारदर्शी प्रशासनका लागि स्थापित बहुदरमाई नगरपालिकामा स्रोतसाधनको दुरुपयोग हुँदै आएको खुलासा भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूमाथि पटकपटक विभिन्न अनियमितताको आरोप लागिरहँदा, यसपटक नगरपालिकाकी उपप्रमुख सुस्मा कुशवाहा स्वयं सार्वजनिक सम्पत्ति दुरुपयोगमा मुछिएकी छन्।
नगरपालिकाको नाममा दर्ता गरिएको ना १ झ १६७१ नम्बरको गाडी, जुन सेवामा प्रयोग हुने सरकारी साधन हो, उपप्रमुख कुशवाहाले निजी प्रयोजनमा प्रयोग गर्दै आएकी छिन्। गाडीलाई उनको व्यक्तिगत मेसिनरी पसलको सामान ढुवानी गर्न प्रयोग गरिँदै आएको प्रत्यक्षदर्शीहरू बताउँछन्।
सार्वजनिक स्रोतलाई निजी स्वार्थका लागि प्रयोग गर्नु न केवल नैतिक अपराध हो, यो प्रचलित कानुनविपरीतको काम पनि हो। उपप्रमुखको यस्तो व्यवहारले स्थानीय शासनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। नगरवासीहरूभित्र व्यापक असन्तुष्टि उत्पन्न भएको छ।
एक स्थानीय बासिन्दाले भने, “जनताको करबाट किनिएको गाडी निजी पसलको काममा चलाइन्छ भने, त्यो जनताको अपमान हो। यस्तो कार्य तत्काल रोकिनुपर्छ र दोषीमाथि कारवाही हुनु आवश्यक छ।”
पारदर्शिता, जवाफदेहिता र सुशासनका कुरा गर्ने जनप्रतिनिधिहरू आफैंले यस्ता गैरजिम्मेवार व्यवहार गरे, भने नगरवासीका समस्या समाधानमा कस्तो भूमिका निर्वाह गर्लान् भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
स्थानीय तहमा सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्दै गएको सन्दर्भमा सम्बन्धित निकायले यथाशीघ्र छानबिन गरी कारवाही अघि बढाउनु आजको आवश्यकता बनेको छ। नत्र यस्ता प्रवृत्तिले स्थानीय शासन प्रणालीमै अविश्वासको वातावरण सिर्जना गर्ने खतरा बढ्दै गएको छ।