पर्सा । सार्वजनिक सेवा प्रवाहका लागि खटाइएका सुरक्षाकर्मीहरूबाटै सेवा ग्रहणमा बाधा पुग्ने, आर्थिक शोषण हुने र कानुनको धज्जी उडाइने क्रम रोकिएको छैन। पछिल्लो समय वीरगञ्जस्थित नारायणी यातायात कार्यालयमा देखिएको ट्राफिक प्रहरीको गैरकानुनी कार्यशैलीले राज्य संयन्त्रमै गम्भीर प्रश्न उठाएको छ।
बारा दरबन्दी भई पर्सा जिल्लामा कार्यरत ट्राफिक प्रहरी राजकुमार गोलेमाथि ट्रायल सेन्टरमा व्यापक भ्रष्टाचार, सेटिङ र आर्थिक शोषणको आरोप लागेको छ। गोलेले प्रहरी उपरीक्षक राजकुमार सिलवालसँगको मिलेमतोमा महिनावारी 'नजराना' बुझाउँदै ट्रायल सेन्टरमा आफ्नो पहुँच सुरक्षित राख्दै आएका छन्। सिलवालको संरक्षणमा रहेका गोलेले लाइसेन्स ट्रायल दिने सेवाग्राहीहरूमाथि नातावाद, पहुँच र आर्थिक लेनदेनका आधारमा व्यवहार गर्दै आएको प्रमाण खुलेको छ।
सूत्रका अनुसार, ट्रायल दिन आउने व्यक्तिलाई जानाजान फेल गराउने, त्यसपछि आफैंले सेटिङ मिलाएर पैसा लिएर पुनः पास गराउने कार्य गोलेको नियमित धन्दाजस्तै बनेको छ। यस्तो कार्यबाट प्रत्यक्ष रुपमा सेवाग्राही मानसिक, आर्थिक र सामाजिक रूपमा प्रताडित भइरहेका छन्।
ट्राफिक प्रहरी गोलेको त्रास र सेटिङको कारण नारायणी यातायात कार्यालयमा सेवाग्राही बिना सिफारिस र पैसा काम अघि बढाउन सक्दैनन्। सेवामा पारदर्शिता र निष्पक्षता कायम राख्नुपर्ने सरकारी नीतिको खुलेआम उल्लंघन भइरहेको छ। अझ चिन्ताको विषय त के छ भने— यस्ता गतिविधिमा संलग्न गोलेजस्ता प्रहरी कर्मचारीमाथि लामो समयदेखि पटक–पटक गम्भीर आरोप लाग्दै आए पनि कुनै प्रभावकारी छानबिन वा कारबाही भएको देखिँदैन।
स्थानीय नागरिक, नागरिक समाज तथा अधिकारकर्मीहरूले ट्राफिक प्रहरी गोले र प्रहरी उपरीक्षक सिलवाल दुबैको नाममा छानबिनको माग गरेका छन्। उनीहरू भन्छन्, “यदि यस्ता भ्रष्ट प्रहरी कर्मचारीहरूलाई संरक्षण दिइने हो भने, आम नागरिकको प्रहरीप्रतिको विश्वास पूर्णरूपमा समाप्त हुनेछ।”
सार्वजनिक सेवा केन्द्रमा प्रहरीकै संलग्नतामा भइरहेको यस्तो खुला भ्रष्टाचार सरकारले वेवास्ता गर्नु गम्भीर भूल हुनेछ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भनिने सरकारले यस्ता घटनामा कडा र छिटो कारबाही नगर्ने हो भने त्यसको असर समग्र प्रशासनिक र सुरक्षातन्त्रमाथि पर्ने निश्चित छ।
यो विषयमा प्रतिक्रिया लिन प्रहरी उपरीक्षक सिलवाल संग सम्पर्क गर्दा हुन सक्ने ।