जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरी स्थित एक कोठामा बस्ने १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकी आमाको प्रेमी रामबाबु साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
धनुषा प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई हत्या आरोपमा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार साहलाई बुधबार राति करिब साढे १० बजे पक्राउ गरिएको थियो ।
साह यसअघि आफ्नी श्रीमती हत्या गरेको घटनामा पाँच वर्ष जेल सजाय भोगेर २०७७ मा रिहा भएका थिए । प्रहरीका अनुसार सोमबार राति साढे ११ बजे साहले खुकुरी प्रहार गर्दा अञ्जलीको घटनास्थलमै मृत्यु भएको थियो । सोही आक्रमणमा अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र होविन्द्र यादवकी १४ वर्षीया छोरी राशा यादव पनि घाइते भएकी छन् । आशाको धरानस्थित वी.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानले प्रेमी र आमा बीचको विवाद हत्याको मुख्य कारण रहेको देखाएको छ । प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार रामबाबु साह जेलबाट छुटेपछि १–२ महिनामा दोस्रो विवाह गरी गाउँमै बस्दै आएका थिए। त्यसै क्रममा उनले मदिरा पसल सञ्चालन गर्दै आएकी आशासँग प्रेम सम्बन्ध बनाएका थिए ।
आशाको पुरानो श्रीमान्ले दुवैको अवैध सम्बन्ध थाहा पाएपछि गाउँमै छलफल गरेर आशा र रामबाबुबीच बस्ने सहमति भएको थियो। श्रीमानले दुई छोरा र एक छोरीको हेरचाह गर्ने जिम्मा लिएपछि दुबै फरक फरक बस्न थालेका थिए। तर आर्थिक अवस्था सुधार्दै गएपछि आशा पुरानो श्रीमानसँग नजिकिँदै गएकाले रामबाबु भने टाढिदै गएका थिए ।
प्रहरीका अनुसार रामबाबुले आशालाई पटक–पटक फोन गर्दा नउठाई छोरी अञ्जलीलाई दिएको र एकपटक कुरा भएपछि गालीगलौज गरेपछि रिसमा आएर घरबाटै खुकुरी लिएर आक्रमण गरेको बयान दिइएको छ ।
त्यसैगरी, करिब दुई महिना अघि रामबाबुले आशालाई जीविका चलाउन अटो खरिद गरिदिएको भए पनि नामसारी आफ्नै भाइको नाममा गराएको र आफू बस्ने कोठा सारेर पुरानो श्रीमानलाई ल्याएको पनि खुलेको छ ।
धनुषा प्रहरीले उक्त घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।