पर्सा । जनताको सेवा, सुरक्षाको ग्यारेन्टी दिने जिम्मेवारीमा रहेको प्रहरी संगठनभित्रै गम्भीर भ्रष्टाचार र अनुशासनहीनता बढ्दो छ। पर्सा जिल्ला प्रहरी कार्यालयमा उजुरी शाखाको जिम्मेवारीमा कार्यरत वरिष्ठ सई योगेन्द्र थापा यतिबेला दलालको संरक्षण, आर्थिक चलखेल र अनियमितताको आरोपमा मुछिएका छन्।
थापाले नागरिकको उजुरी निष्पक्ष ढंगले सुन्नुको सट्टा, दलालमार्फत आएका उजुरीलाई प्राथमिकता दिने, पहुँचवाला बिचौलियाको इसारामा काम गर्ने जस्ता गम्भीर आरोपहरू उठेका छन्। स्थानीय स्रोतहरूका अनुसार, थापाले सेवाग्राहीहरूलाई सिधा सेवा नदिई बिचौलियाको सहारा लिन बाध्य पार्ने कार्यसंस्कृति निर्माण गरेका छन्, जुन सरासर गैरकानुनी र अनैतिक हो।
अझ चिन्ताजनक पक्ष के छ भने, थापाको सरुवा भइसकेको अवस्थामा समेत उनी पर्सा प्रहरी कार्यालयमै पद जोगाइरहन सफल भएका छन्। प्रहरी संगठनभित्रैको सेटिङ र उच्चस्तरीय पहुँचकै कारण उनले आफू अनुकूल वातावरण सिर्जना गर्न सफल भएको भन्ने आम बुझाइ छ।
थापाका कतिपय अभिव्यक्तिहरू समेत प्रहरी मर्यादाविपरीत छन्। “बिचौलिया मेरो साथी हो, मलाई कोही केही गर्न सक्दैन” भन्ने शैलीमा बोलेर उनले अनुशासनको खिल्ली उडाएका छन्। सादा पोशाकमा दलालको गाडी चढ्दै बजारमा किनमेल गर्ने, बिचौलियामार्फत सरोकारवालासँग सेटिङ मिलाउने, र कार्यालयको निर्णय प्रक्रियामा बाह्य प्रभाव कायम गराउने काम गरिरहेका छन्।
यस्ता गैरजिम्मेवार र भ्रष्ट अधिकारीलाई संरक्षण दिनु भनेको सम्पूर्ण संगठनको नैतिक धरातल खिस्यानु हो। थप आश्चर्यको कुरा, थापाविरुद्ध यत्रो गम्भीर आरोप सार्वजनिक भइरहँदा समेत प्रहरी उपरीक्षक गौतम मिश्रले उनलाई बचाउने प्रयास गर्नु, संगठनभित्रको सुदृढीकरण होइन, झनै पतनतर्फ उन्मुख गराउने सङ्केत हो।
थापामाथि तत्काल निष्पक्ष छानबिन गरी, कानूनी कारबाही सुनिश्चित गर्नु, संगठनको विश्वसनीयता कायम राख्न अपरिहार्य भइसकेको छ। अन्यथा, पर्सा प्रहरी कार्यालय दलाल र बिचौलियाको अखडामा रूपान्तरण भएर जनताको विश्वास गुमाउने जोखिम छ।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोल लम्सालले दलाल बिचौलियालाई पूर्ण रूपले निषेध गरिएको बताए साथै पर्सामा सरुवा भएर आएकै दिन यहाँबाट सरुवा भएकालाई रवाना दिएर पठाउने उनले बताए ।