वीरगञ्ज । नेपाल निजामती कर्मचारी संगठन, पर्सा जिल्ला कार्यसमितिको आयोजनामा सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा खाद्यान्न तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
आज बिहिबार साउन १५ गते दिउँसो १:०० बजे वीरगञ्जस्थित मानव सेवा आश्रममा आयोजित उक्त कार्यक्रम संगठनकी पर्सा उपाध्यक्ष सृष्टि विष्टको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमको अवसरमा आश्रममा आश्रित बृद्धबृद्धा तथा सेवाग्राहीलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको थियो। सहिदहरूको योगदानको स्मरण गर्दै सामाजिक उत्तरदायित्वको भावनाले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाइएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका पदाधिकारी, सदस्य तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको जिल्ला अध्यक्ष सुनिल रौनियारले बताए ।