पर्सा । शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्सालाई मधेस प्रदेशभरिका संगठनहरूमध्ये उत्कृष्ट कार्यसमितिका रूपमा छनोट गरिएको छ। यस अवसरमा केन्द्रीय कार्यसमितिको तर्फबाट जिल्ला अध्यक्ष सुनिल रौनियारले प्रमाणपत्र तथा मायाको चिनो ग्रहण गर्नुभएको छ।
कार्यक्रमको अवसरमा अध्यक्ष रौनियारले खुशी व्यक्त गर्दै भन्नुभयो, “जिल्ला कार्यसमिति पर्सा मधेस प्रदेशकै उत्कृष्ट कार्यसमिति बन्न सफल हुनु हाम्रो समर्पित टिमको कठिन परिश्रम, ऐक्यबद्धता र संगठनप्रतिको निष्ठाको प्रतिफल हो। म मेरो कार्यकालमा साथ दिँदै आउनुभएका जिल्ला पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, संगठनका वरिष्ठ नेतागण तथा शुभेच्छुक सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।"
उहाँले थप भन्नुभयो, “मेरो नेतृत्वमा काम गरेको कार्यसमितिको यस्तो उच्च मूल्याङ्कनले म आफूलाई अत्यन्त खुसी, गौरवपूर्ण र जिम्मेवार महसुस गरेको छु। आगामी दिनमा अझै प्रभावकारी र अनुकरणीय काम गर्न हामी प्रतिबद्ध रहनेछौं।"
संगठनका केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिंदै अध्यक्ष रौनियारले यस सम्मानले संगठनको कामप्रति थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। स्मृति दिवसकै अवसरमा मानव सेवा आश्रममा खाद्यान्न तथा सामग्री वितरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।