पाकिस्तानले आज १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको उत्सव मनाइरहेका बेला कराँची शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार ज्यान गुमाउनेहरूमा एक वृद्ध व्यक्ति र एक बालिकासहित तीन जना रहेका छन् ।
प्रहरीका अनुसार कराँचीको लियाकताबाद, कोरंगी, लियारी, महमूदाबाद, अख्तर कोलोनी, केमारी, ज्याक्सन, बलदिया, ओरंगी टाउन र पापोश नगर जस्ता क्षेत्रहरूमा गोलीबारीका घटनाहरू भएका छन् ।
यस्तै, शरीफाबाद, नजामाबाद, सुरजानी टाउन, जमान टाउन र लान्धी जस्ता क्षेत्रमा पनि गोलीबारी भएको छ ।
प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको छ र हवाई फायरिङमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गरिने आश्वासन दिएको छ ।
पाकिस्तानमा स्वतन्त्रता दिवस मनाउने क्रममा हरेक वर्ष गोलीबारीका घटनाहरू हुने गर्छन् । सन् २०२४ मा पनि यस्तै घटना भएको थियो । यसमा एक बालकको मृत्यु भएको थियो भने ९५ जनाभन्दा बढी घाइते भएका थिए।
भारतको एक दिन अगाडि पाकिस्तानमा स्वतन्त्रता दिवस मनाइन्छ ।