अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसँग करिब एक घण्टा लामो ‘विस्तृत वार्ता’ गरेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्तापछि अलास्काबाट वासिङ्टन डीसी फर्किने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो संवाद गरेका ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिएकी छन् ।
उनले शनिबार पत्रकारहरूलाई ट्रम्प-जेलेन्स्की संवाद बारे जानकारी दिएकी हुन् । ट्रम्पले नेटोमा सामेल भएका देशका नेताहरूसँग पनि टेलिफोनमा कुराकानी गरेका उनले जानकारी दिइन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले पनि प्रधानमन्त्री कियर स्टार्मरले अलास्का वार्तापछि डोनाल्ड ट्रम्प र भोलोदमिर जेलेन्स्की दुवैसँग कुरा गरेका पुष्टि गरेको छ ।
ज बिहान उनी नेटोका सहयोगी देशका अन्य युरोपेली नेताहरूसँग भएको एक टेलिफोन संवादमा पनि सहभागी भएका थिए।
उता युक्रेनको राष्ट्रपति कार्यालयले पनि जेलेन्स्कीले आज बिहान ट्रम्प र युरोपेली नेताहरूसँग संवाद गरेको पुष्टि गरेको छ । कार्यालयले भनेको छ, ‘यो लामो वार्ता थियो। यस वार्ताको सुरुआत जेलेन्स्की र ट्रम्पबीच भएको हो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सहभागी भए ।’
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उनी सोमबार वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भेट गर्ने जानकारी दिएका छन् । टेलिग्राममा एक सन्देश अपडेट गर्दै उनले भनेका छन्, ‘म यस निमन्त्रणाका लागि आभारी छु ।’