काठमाण्डौ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू ‘फर्स्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले सचेत गराएको हो ।
बोर्डको गएको साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेश नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेश गर्न नसकिएको भन्दै पेश गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उहाँले बताउनुभयो । बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।
बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानूनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र यो अवधिसम्म एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।
बोर्डले ब्राण्ड डिजिटल लजिक प्रा.लि., ललितपुर र टीसीएम स्पोर्टस एण्ड मार्केटिङ प्रा.लि. टङ्गाल, काठमाण्डौसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न÷नगराउन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ ।