काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकमा शीर्ष नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै सम्पुर्ण पदाधिकारीहरूको राजीनामा माग गरिएको छ। छलफलमा सहभागी नेताहरूले पार्टीभित्रका ७० वर्ष पुगेका नेताहरूले राजनीतिबाट अवकास लिनुपर्ने आवाज उठाएका छन्।
‘कांग्रेसका पदाधिकारीसँग दुई तिहाइ कार्यसम्पाद समितिका सदस्यहरूले पछिल्लो घटनाक्रमबाट उत्पन्न परिस्थितिप्रति ठूलो आक्रोस व्यक्त गर्नु भएको छ। जेनजी आन्दोलनले उत्पन्न संकट लगत्तै कांग्रेसले सर्वदलीय बैठक आह्वान गर्नु पर्नेमा कांग्रेस नेतृत्व चुक्यो। पार्टीले बेलैमा आधिकारिक धारणा पनि ल्याउन सकेन। पार्टी सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत रहेको समयमा उपसभापति र महामन्त्रीसहित पदाधिकारीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको कुरा बैठकमा उठ्यो,’ एक नेताले भने।
सामान्य अवस्था झै पार्टीका महामन्त्रीहरूले एक कोठामा लुकेर बक्तव्यबाजी मात्र गरेको भन्दै उनीहरूले आक्रोस पोखेका थिए। कांग्रेस संवाद र छलफलमा चुकेकै कारण संविधान बाहिर गएर प्रधानमन्त्री नियुक्त हुन पुगेको बैठकमा सहभागीहरूको धारणा थियो।
‘अब कांग्रेसमा वृद्धभत्ता खाने उमेर समूहका व्यक्ति सक्रिय राजनीतिबाट रिटायर्ड हुँदै सल्लाहकारको भूमिकामा बस्नुपर्छ। एक पटक मात्रै मन्त्री भएकाहरू कांग्रेस नेतृत्वमा आउनु हुँदैन। वर्तमान मन्त्रीमण्डल र सरकार चलाउने संयन्त्रमा बसेका मानिस अयोग्य सावित भइसके। उनीहरूकै अयोग्यताका कारण देश अहिलेको अवस्थामा पुग्यो भन्ने धारणा बैठकमा जोड दारका साथ उठेको थियो,’ उनले भने।
तीन पटक भन्दा बढी सांसद भइसकेको व्यक्ति कांग्रेस नेतृत्वबाट पछि हट्नुपर्ने कुरा पनि बैठकमा उठेको बताइएको छ। २०७९ का वडा तहदेखि सांसदसम्मका उम्मेदवार एक कार्यकालका लागि पछि हटेर फ्रेस व्यक्तिलाई अवसर दिनुपर्ने विषय बैठकमा उठेको थियो। यस्तो गर्न सकेमा मात्र कांग्रेस रिभाइज हुने सहभागीहरूले बताएका थिए।
आपतको बेला जनताको पक्षमा उभिन नसक्ने नेताहरूले गर्दा नै पार्टी र लोकतन्त्र जोखिममा परेको बैठकका सहभागीहरूको ठहर थियो।
भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध सडकमा उत्रिएका जेनजीहरूको आन्दोलनका कारण अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन्। यसप्रति पनि कांग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ।
पार्टी सभापति देउवा र आन्दोलनका घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ।