काठमाडौं । ललितपुरमा एक ईमानदार नागरिकले सडकमा फेला पारेको ठूलो रकम प्रहरीलाई बुझाई अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् ।
ललितपुर महानगरपालिका–११ बसोबास गर्ने ३७ वर्षीय सुरेश देउलाले नयाँ बानेश्वरमा लुटपाटपछि बाटोमा छरिएको अवस्थामा रहेको नगद रकम फेला पारेर जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।
उनले फेला पारेको रकममा पाँच सय दरका नयाँ नोटमा रु ५ लाख र ससाना दरका नोटमा रु १० हजार ५ सय गरी जम्मा रु ५ लाख १० हजार ५ सय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, ललितपुर शाखामा कार्यरत कर्मचारीको भएको खुलेको छ । प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम सम्बन्धित कर्मचारीलाई बुझाएको छ ।