शनिबार सेन्ट्रल लन्डनमा झण्डै एकलाख ५० हजार प्रदर्शनकारी ब्रिटेनको राष्ट्रिय झण्डा बोकेर उत्रिए । आधुनिक समयमा बेलायतमा भएको दक्षिणपन्थी प्रदर्शनहरूमध्ये यो सबैभन्दा ठूलो थियो ।
प्रदर्शनकारीहरूले बेलायतको युनियन झण्डा र इङ्गल्याण्डको रातो र सेतो सेन्ट जर्ज क्रस बोकेका थिए ।
आप्रवासी विरोधी कार्यकर्ता टमी रोबिन्सनद्वारा आयोजित ‘युनाइट द किंगडम’ रयालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भयो ।
लन्डन महानगरीय प्रहरीले उक्त आप्रवासी विरोधी प्रदर्शनमा २६ प्रहरी घाइते भएका र २५ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको जनाएको छ ।
हालैका महिनामा जनमत सर्वेक्षणहरुमा शीर्ष स्थानमा रहेको बेलायतको सबैभन्दा ठूलो आप्रवासी विरोधी राजनीतिक दल रिफर्म यूके भने रोबिन्सनबाट टाढा छ । किनकि उनीमाथि धेरै आपराधिक अभियोगहरू छन् र उनले कम्तिमा पाँच पटक जेल सजाय भोगिसकेका छन् ।
लन्डन उपनगरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक इथियोपियाली पुरुष दोषी ठहरिएपछि यस समरमा शरणार्थीहरू बस्ने होटल बाहिर धेरै विरोध प्रदर्शन भएका थिए । रबिन्सनको पछिल्लो ‘युनाइट द किंगडम’ र्याली त्यसैबाट विजारोपण भएको ठानिन्छ ।
‘आजको प्रदर्शन ग्रेटब्रिटेनमा सांस्कृतिक क्रान्तिको झिल्को हो । यो हाम्रो क्षण हो’, ४२ वर्षीय टमीले आफ्ना समर्थकहरूलाई भनेका थिए ।
उनले मार्चलाई अभिव्यक्ति स्वतन्त्रता, ब्रिटिश सम्पदा र संस्कृतिको प्रदर्शनको रूपमा चित्रित गरे । उनले यो राष्ट्र निर्माण गर्ने बेलायती भन्दा आप्रवासीहरूको अदालतमा बढी अधिकार छ भन्ने दाबी गर्दै भीडलाई उत्तेजित पारेका थिए ।
रोबिन्सनको प्रदर्शनमा अमेरिकी अर्बपति एलोन मस्क, फ्रान्सेली अति–दक्षिणपन्थी राजनीतिज्ञ एरिक जेम्मोर र आप्रवासी विरोधी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीका पिटर बाइस्ट्रोन पनि वक्ताका रुपमा भिडियो लिङ्कमार्फत जोडिएका थिए ।
जुलुसमा सहभागी धेरैले आफूहरु आप्रवासन सम्बन्धी चिन्ताका कारण प्रदर्शनमा आएको बताए । ’हामी हाम्रो देश फिर्ता चाहन्छौं । हामी हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई ट्रयाकमा फर्काउन चाहन्छौं’ एक प्रदर्शनकारी सान्ड्रा मिचेलले रोयटर्ससंग भनिन् ‘सरकारले यो देशमा अवैध आप्रवासन रोक्नुपर्छ ।’
बेलायतमा अहिले आप्रवासन प्रमुख राजनीतिक मुद्दा बनेको छ । देशले रेकर्ड संख्यामा शरण दावी गर्ने आप्रवासीहरूको सामना गरिरहेका बेला यसले बेलायतको अर्थतन्त्र समेत कमजोर बनाउंदै लगेको चिन्ता छ । यस वर्ष अहिलेसम्म २८ हजार बढी आप्रवासी च्यानल पार गर्दै साना डुङ्गाहरूमा अवैध रुपमा बेलायत छिरेका तथ्यांक छ ।
बेलायतको सत्तारुढ दल लेबरको शुभेच्छुक संस्था ‘नेपाली फर लेबर’ का अध्यक्ष एवं पूर्व काउन्सिलर डा. बच्चुकैलाश कैनी उग्र दक्षिणपन्थीहरूले बेलायतमा आप्रवासीलाई धेरै सामाजिक समस्याको दोष दिंदै उनीहरूको योगदान र अधिकारलाई कम आकलन गर्ने गरेका बताउंछन् ।
उता, सोही दिन प्रति–विरोध प्रदर्शन ‘स्ट्यान्ड अप टु रेसिज्म’ पनि भएको थियो जसमा लगभग ५ हजार मानिस उपस्थित थिए ।