भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (१७ सेप्टेम्बर) आफ्नो ७५औं जन्मदिन मनाउँदै छन् । मोदीको जन्म सन् १९५० मा गुजरातको वडनगरमा भएको थियो ।
मोदीको जन्मदिनको अवसर पारेर उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले आजदेखि अक्टोबर २ सम्म देशभर रक्तदान शिविर, सरसफाइ अभियान, स्वास्थ्य जाँच शिविर, वृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरेको छ ।
यस पटक मोदीले मध्य प्रदेशको धार जिल्लामा आफ्नो जन्मदिन मनाउने छन् । जहाँ उनले प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई बढावा दिने र हजारौं युवाहरूलाई रोजगारी प्रदान गर्ने दाबी गरिएको छ । यसका साथै, मोदीले ‘स्वस्थ नारी, सशक्त परिवार अभियान’ पनि सुरु गर्ने बताइएको छ ।
यसैबीच, आजै भारतको लोकसभामा प्रमुख विपक्षी नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धी हाइड्रोजन बमले राजनीतिक हलचल मच्चाउने तयारीमा छन् ।
गान्धीले चुनावमा धाँधली हुँदै आएको आरोप लगाउँदै आएका छन् । प्रमाणसहित भोट चोरीको मुद्दा उठाउँदै गान्धी केही समयदेखि निकै आक्रामक देखिएका छन् । यसक्रममा उनले भोट चोरीको हाइड्रोजन बम खसाल्ने घोषणा गरेका थिए ।
पहिले गान्धीले बैंगलोर दक्षिण लोकसभा सिटको महादेवपुरा विधानसभा क्षेत्रमा १ लाखभन्दा बढी मतको धाँधलीको खुलासालाई परमाणु बम भनेका थिए । दोस्रो नयाँ खुलासालाई गान्धीले हाइड्रोजन बम भन्दै आएका छन् ।
गान्धीले आज देशबासीलाई सम्बोधन गर्दै भोट चोरीको तथ्याङ्कहरू प्रस्तुत गर्दै नयाँ खुलासा गर्ने बताइएको छ । गान्धीको दोस्रो खुलासा कति बलियो हुन्छ त्यो हेर्न बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।