काठमाडौं । २०७९ सालको स्थानीय निर्वाचनको मतपरिणमपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सर्वाधिक चर्चा भयो । राजनीतिक दल र नेताबाट आजित बनेका जनताले हर्क र बालेनको उदयलाई परिवर्तनको संकेत माने ।
दह्रिलो वैकल्पिक शक्तिको उदय हुनसक्ने भन्दै धेरैले उनीहरुलाई मिलेर जान सुझाव समेत दिए । जनताले दिएको सुझाव दुवैले केही हदसम्म मनन गरेको जस्तो पनि देखिन्थ्यो । काठमाडौं आउँदा हर्कले बालेनलाई भेटे । आत्मियता दर्शाए ।
पछिल्लो समय भने दुवै मेयरहरु नदीका दुई किनार झैं भएका छन् । खासगरि जेनजी आन्दोलनपछि बालेनप्रति हर्कको असन्तुष्टि र आक्रोश सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ । जेन जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालिदियो । यसपछि जेनजीले चाहे अनुसारको अन्तरिम सरकार बन्ने परिस्थिति बन्यो । उक्त अन्तरिम सरकारको नेतृत्व गर्ने मनसायका साथ हर्क साम्पाङ धरानबाट काठमाडौं हान्निए ।
तर, राजनीतिक कोर्स हर्कको अनुकूलतामा अगाडि बढेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन हुने भयो । यसपछि दुखी बनेका हर्कले यो सरकार विदेशीको इशारामा बनेको भनेर निरन्तर स्टाटसहरु लेखिरहेका छन् । कतिसम्म भने केही युट्युबरहरुलाई बालेन र आफूले कार्कीलाई समर्थन नगरेको समेत भन्न भ्याए ।
यता बालेन भने निरन्तर हर्कलाई फकाउने प्रयासमा छ । उनले हर्कलाई लक्ष्यित गर्दै लेखे, ‘अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।’
तर, बालेनले लेखेको यो स्टाटसको आशय हर्कले निक्कै ढिला गरी बुझे । भदौ २५ मा बालेनले लेखेको स्टाटसको आशय उनले भदौ ३० मा आएर बल्ल बुझे । यसवेलासम्म मुलुकले कार्की नेतृत्वमा अन्तरिम सरकार पाइसकेको थियो । यसपछि भने हर्कले आफ्नो निशाना सीधै बालेनतिर सोझ्याए । अनि सुरु भयो स्टाटटसका वर्षात । एकपछि अर्को स्टाटस फाल्दै उनी बालेनमाथि हल्का तवरबाट संगीन आरोपहरु लगाइरहेका छन् ।
उनले भदौ ३० बालेन विरुद्ध पहिलो स्टाटस लेखे, ‘हिजो सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु भनेर साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्रीबीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ?’
हर्कले इंगित गरेको गृहमन्त्री ओमप्रकाश अर्याल र बालेनबीचको सम्बन्ध हो । ओमप्रकाश बालेनका कानुनी सल्लाहकार थिए । यो स्टाटस लेखेको चार घण्टापछि हर्कले बालेनलाई धुर्की लगाए । सक्ने भए प्रत्यक्ष कार्यकारीको निर्वाचन गराएर देखाउन चुनौती दिए । आफूले जितेको खण्डमा आफ्नो घरमा एक महिना हली बस्नु पर्ने शर्त राख्दै भने, ‘म हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु ।’
भोलिपल्ट बिहानै आयो अर्को स्टाटस । सो स्टाटसमा उनले भने, ‘को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन् १’
त्यसपछि भने बालेनले हर्कलाई जवाफ फर्काए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
तर, बालेनको यो स्टटास हर्क फकिएनन् । बरु झन् क्रोधित बने । अर्को स्टाटसमा उनले लुकेर खेल्नेलाई गेमर भनिने, लिडर नभनिने बताए । त्यसपछि पनि हर्क रोकिएका छैनन् । लगातारजसो बालेन लक्षित स्टाटस लेखिरहेका छन् ।
हर्कले बालेनविरुद्ध तीन दिनमा १५ वटा स्टाटस लेखिभ्याएका छन् । यो रफ्तार कहिलेसम्म जारी रहने हो थाहा छैन । आफ्नो स्टाटसमा हर्कले बालेनमाथि सिधै विदेशी दलाल र एजेन्टको आरोप लगाएका छन् । आन्दोलनका क्रममा भएको विध्वंसमा बालेनको मुख्य हात रहेको हर्कको स्पष्ट आशय छ ।
यही बीचमा बालेनले नयाँ पार्टी खोल्ने खबर बाहिरियो । हर्कले फेरि बालेनलाई तारो बनाए । देश जलाएर लुक्नेले पार्टी खोल्ने भन्दै उनले बालेनलाई उडाएका छन् । गाउँ गाउँमा गएर कसरी भोट माग्लान् भनेर आशंका प्रकट गरेका छन् । बालेनले भने कुनै जवाफ फर्काएका छैनन् । बालेनप्रतिको हर्कको यो प्रहार कहाँ गएर रोकिन्छ, कसैले भन्न सक्ने अवस्था छैन ।
तर, पछिल्लो समय जेनजी आन्दोलनलाई लिएर अनेक तरहबाट बहस र विमर्श भइरहेको छ । यो आन्दोलनको औचित्य, यो आन्दोलनको बिजारोपनलाई लिएर प्रश्नहरु उठिरहेका छन् । कतैबाट निर्देशित त हैन रु भन्ने कुराहरु आइरहेका छन् । बालेन पनि अहिले प्रश्नको घेरामा छन् । प्रायले हर्कको स्टाटसलाई उडाए पनि कतिपयले भने गम्भीररुपमा लिन थालेको पनि पाइन्छ ।