काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालयहरुमाथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताए । आन्दोलनका क्रममा भदौ २३ गते ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गरे ।
महासचिव पोखरेलले राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेको बताए । ‘बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन, नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो त्यो लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हो भन्ने बुझ्नु पर्दछ, राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदै’, महासचिव पोखरेलले भने ।
राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले बताए । यो नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम भएको महासचिव पोखरेलको दाबी छ ।
नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै उनले त्यसप्रति गर्व गर्नुपर्ने बताए । अहिले इतिहासको अति कठिनपूर्ण घडीमा पार्टी हरेको बताउँदै उनले यस्ता धेरै कठिनाइ एमालेले पार गर्दै आएको स्मरण गराए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै महासचिव पोखरेलले एमाले फेरि उठ्ने बताए ।
पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले बोलेका थिए । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक सबै नेताहरूको उपस्थिति थियो ।