काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
शाही विभिन्न अपराधिक मुद्दामा फरार देखिएको र अब अनुसन्धानको अन्य प्रक्रिया अघि बढाइने एसपी भट्टराईले बताए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।
प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।
उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको थियो । उक्त चोरीको घटनामा शाहीसहित अन्य दुई जना संलग्न थिए ।
तीमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि अर्जुन भने त्यही बेलामा गाउँबाट भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ ।