महोत्तरी । भारतको विहार राज्यमा यही कात्तिक २५ गते हुन गइरहेको विहार विधान सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउनका लागि दुवै देशका सुरक्षा अधिकारीले आइतबार संयुक्त रूपमा बैठक बसेको छ ।
सीमावर्ती भारतको भिठ्ठा थानामा आयोजना गरिएको बैठकमा नेपाल र भारत विहारका सीमानाकामा रहेका सुरक्षा चौकीका प्रमुखको उपस्थिति रहेको थियो । पुपरी एसडिपिओ सुनिता कुमारीको अध्यक्षतामा भएको बैठकमा भारतको विहार राज्यमा हुन गइरहेको विधान सभाको निर्वाचनलाई लिएर सीमाको दुवैतर्फ सुरक्षा व्यवस्था सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा नेपालको महोत्तरीबाट मलिबारा प्रहरी चौकी प्रमुख प्रभु राउत, नैन्ही प्रहरी चौकी प्रमुख भरतकुमार ठाकुर, भारतका तर्फबाट एसएसबी भिठ्ठामोडका असिस्टेन्ट कमान्डेन्ट सुमीतकुमार र निशान्तकुमार, सर्किल इन्स्पेक्टर परशुराम सिंह, सुरसन्ड थाना प्रमुख लालकिशोर गुप्ता, चोरौत थाना प्रमुख मोनी कुमारी, मधुबनी जिल्लाको मधवापुर थाना प्रमुख हर्ष राज, भिठ्ठा थाना उपप्रमुख रजनिश कुमार र सहायक अवर निरीक्षक गोपाल कुमारका साथै दुवै देशका प्रहरी र सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।
बैठकमा द्विपक्षीय सहयोग, सूचना आदानप्रदान, सीमा सुरक्षाको समन्वय र आपराधिक गतिविधिमाथि निगरानी राख्ने सहमति भएको हो । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सीमा क्षेत्रमा सुरक्षा आवश्यक रहेकाले दुवै देशका सुरक्षाकर्मी मिलेर सीमानाकामा गस्ती तीव्र बनाउने र सुरक्षासम्बन्धी विषयवस्तुलाई साझा गर्ने सहमति भएको सुरक्षा अधिकारीले बताएका छन् ।
भारतीय सुरक्षाकर्मीले फरार अपराधी, लागुपदार्थ तस्कर, मदिरा र गाँजा व्यापारीलाई रोक्न दुवै पक्षले आआफ्नो क्षेत्रमा निगरानी बढाउनु आवश्यक रहेको नेपाल प्रशासन तथा नेपाली सशस्त्र प्रहरीसँग आग्रह गर्नुभएको हो । यदि नेपालका नागरिक भारतमा आपराधिक गतिविधिमा संलग्न पाइएमा तिनीहरूलाई नेपाल प्रशासनलाई सुपुर्दगी गरिने र नेपालले पनि भारतका आपराधिक तत्वहरूलाई पक्राउ गरी भारतलाई बुझाउने सहमति भएको बताइएको छ ।
विहारमा आगामी नोभेम्बरमा हुने विधान सभा निर्वाचनका लागि जिल्ला समन्वय समितिको बैठक छिट्टै हुने जनाइएको छ ।
महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये पाँच वटा स्थानीय निकायको सीमा भारतसँग जोडिएको छ । मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिका अन्तर्गत ३८.४ किलोमिटर भारतीय सिमासँग जोडिएको छ ।