पर्सा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे माथि भएको आक्रमणप्रति प्रेस चौतारी नेपाल, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको घोर निन्दा गरेको छ।
विज्ञप्तिअनुसार कात्तिक १४ गते राति करिब १२ बजे पाण्डे लमजुङस्थित आफ्नै निवासमा आक्रमणमा परेका थिए। उक्त घटनामा घरका भौतिक संरचनासहितका भागहरू क्षतिग्रस्त भएका छन् भने पाण्डेकी आमालाई समेत चोटपटक लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि पाण्डे परिवार त्रासमा रहेको उल्लेख गरिएको छ।
प्रेस चौतारीले सो आक्रमणलाई पत्रकारिता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर चुनौती बताउँदै दोषी पहिचान गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष पाण्डेले केही संवेदनशील विषयमा आफ्नो विचार सार्वजनिक रुपमा राख्दै आएका थिए, जसकै कारण यो घटना पूर्वनियोजित रूपमा गराइएको हुन सक्ने आशंका गर्न सकिन्छ।”
प्रेस चौतारी पर्सा शाखाले सरकारसँग आक्रमणमा संलग्न अपराधीहरूलाई तत्काल पत्ता लगाई कठोर कानूनी कारबाही गर्न, अध्यक्ष पाण्डे र उनको परिवारको सुरक्षाको पूर्ण व्यवस्था गर्न माग गरेको छ।
सचिव कृष्ण कुशवाहाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र पत्रकारिता हाम्रो अधिकार हो, त्यसमा हुने कुनै पनि किसिमको धम्की र आक्रमणलाई प्रेस चौतारी पर्सा कदापि सहन गर्ने छैन।”
                      