वीरगन्ज । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको मृत्यु भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा शनिबार बिहान उनको मृत्यु भएको हो । स्वास्थ अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचारकै क्रममा मृत्यु भएको हो ।
आलम लामो समयदेखि सुगर तथा उच्च रक्तचापबाट ग्रसित थिए । उनलाई दसैँअघि नै अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरिएको थियो । रौतहटको राजापुरस्थित इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री आलमले उच्च अदालत जनकपुर वीरगन्ज इजलासबाट गत १४ जेठमा सफाइ पाएका थिए ।
जेलबाट छुटेलगत्तै उनलाई मस्तिष्कघात भएको थियो । त्यसलगत्तै उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सात दिनको उपचारपछि उनी घर गएका थिए । तर, स्वास्थ्यमा उल्लेख सुधार हुन सकेको थिएन ।
जिल्ला अदालत रौतहटले १३ वैशाख ०८१ मा इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोग ठहर गर्दै पूर्वमन्त्रीसमेत रहेका आलमसहित महताव आलम, शेष सेराज र बद्री सहनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो । मेहताव आफतावका सहोदर भाइ हुन् । सेराज र बद्री उनका सहयोगी हुन् । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले इजलाशले उनीहरूविरुद्ध जन्मकैदको फैसला गरेको थियो ।
त्यस्तै, घटनामा जोडिएका मोहम्मद मोबिन, शेष फजले हक, शेष भदई, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तबी राखिएको थियो । घटनामा जोडिएका मुक्ति साहले भने सफाइ पाएका थिए । उच्चले साहको सन्दर्भमा भने जिल्ला अदालत रौतहटकै फैसला सदर गरेको थियो ।
कांग्रेसले आलमको सम्मानमा पार्टीको झन्डा तीन दिन आधा झुकाउने
कांग्रेसले आलमको सम्मानमा पार्टीको झन्डा तीन दिन आधा झुकाउने भएको छ । शनिबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आलमको सम्मानमा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा २२, २३ र २४ कात्तिकमा पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको हो ।
आलमको निधनप्रति कांग्रेसले दु:ख व्यक्तसमेत गरेको छ । साथै, २३ कात्तिकमा केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।