पर्सा । श्री अजीज मिया माध्यमिक विद्यालयका दुई मेधावी विद्यार्थी रामबिश्वास प्रसाद कुर्मी र हरिओम प्रसाद यादवलाई विद्यालयले विशेष समारोहका बीच सम्मान गरेको छ।
विद्यालयका विद्यार्थी रामबिश्वास प्रसाद कुर्मी हाल नेपाल आर्मीमा तथा हरिओम प्रसाद यादव नेपाल प्रहरीमा सिफारिस भएका हुन्। उनीहरूले विद्यालय र गाउँ दुवैको गौरव बढाएको भन्दै सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सलाउदीन अहमदले दुवै विद्यार्थीलाइ अबिर, माला र प्रशंसा पत्रद्वारा सम्मान गर्नुभयो। उहाँले विद्यार्थीहरूले राष्ट्रसेवाको क्षेत्रमा गरेको प्रवेशले विद्यालय मात्र होइन, सम्पूर्ण समाजलाई गर्व महसुस गराएको बताउनुभयो।
सो अवसरमा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी अभिभावक, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले युवा पुस्तालाई राष्ट्रसेवा, इमानदारी र परिश्रमको बाटोमा अघि बढ्न प्रेरणा प्रदान गर्ने अभिव्यक्ति दिएका थिए।