वीरगञ्ज । प्रहरी महानिरीक्षकको मिति २०८२ साल असोज २८ गतेको निर्णयअनुसार कात्तिक महिनादेखि लागू हुने गरी विभिन्न प्रहरी निरीक्षकहरूको सरुवा/काज गरिएको भए पनि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक रमेशकुमार तिमिल्सिना भने हालसम्म समेत आफ्नो नयाँ कार्यस्थलमा हाजिर भएका छैनन्।
महानिरीक्षकको उक्त निर्णयअनुसार तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय पर्साको शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको हो। तर सरुवा भएको लामो समय बितिसक्दा पनि उनले पर्सा नछोडेको पाइएको छ।
आर्थिक स्वार्थ र व्यक्तिगत लाभको आडमा तिमिल्सिना पर्सामा बसिरहेको आरोप समेत लागेको छ। प्रहरी संगठनभित्र सरुवा भएका अन्य निरीक्षकहरूलाई तत्कालै रवाना गरिएकामा तिमिल्सिनालाई भने अहिले पनि पर्सामै कार्यरत राखिएको भन्दै संगठनभित्र असन्तुष्टि देखिएको स्रोत बताउँछ।
स्रोतका अनुसार सरुवा निर्णय कार्यान्वयनमा ढिलाइ हुनु प्रहरी संगठनको आन्तरिक शुचिता र पारदर्शितामाथि प्रश्न उठाउने विषय बनेको छ।
यसैबीच, प्रहरी महानिरीक्षकको निर्देशनअनुसार सरुवा तथा काज सम्बन्धी सबै निर्णयको अभिलेखमा आवश्यक विवरण उल्लेख गर्न सम्बन्धित कार्यालयहरूलाई वोधार्थ पत्र पठाइएको छ। तर, तिमिल्सिनाको मामिलामा भने कार्यान्वयनको गति सुस्त रहेको देखिन्छ।