बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दाको सुनुवाइ आज ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले गर्दै छ।
सरकारी वकिलले हसिनाविरुद्ध पाँच वटा गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा गम्भीर हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्धको अपराध हुन्।
सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन्। हसिनाको पार्टी, अवामी लिगले बिहीबार बिहानदेखि बेलुकासम्म देशव्यापी तालाबन्दीको घोषणा गरेको छ।
मुद्दालाई लिएर बढ्दो तनावका कारण बंगलादेश उच्च सतर्कतामा छ। देशभरका विमानस्थल र प्रमुख भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ। परिस्थिति अनुसार न्यायाधीकरणले आफ्नो फैसलाको मिति पनि स्थगित गर्न सक्छ।
यी घटनाहरू अगस्ट ५, २०२४ मा सुरु भएका थिए, जब बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ गरियो। कू हुनुभन्दा अगाडि र त्यसपछि देशभरि ठूलो विरोध प्रदर्शन, आगजनी र हिंसा भएको थियो।
सरकारमाथि प्रदर्शनकारी विद्यार्थीहरूलाई पक्राउ गरेको, यातना दिएको र गोली चलाएको आरोप लगाइएको थियो। हिंसा बढ्दै जाँदा शेख हसिना देश छोडेर भागेर भारतमा शरण लिन पुगेकी थिइन्।
त्यसपछि, बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले उनीविरुद्ध मुद्दा दायर गर्यो। अदालतले उनलाई देश फर्कन र मुद्दामा उपस्थित हुन आदेश दियो, तर उनले अस्वीकार गरिन्।
न्यायाधीकरणका सरकारी वकिल गाजी मुनावर हुसेन तमिमले नोभेम्बर १३ मा फैसलाको मिति मात्र घोषणा गरिने बताए, तर त्यस दिन सजाय घोषणा गरिने छैन। सामान्यतया, फैसला घोषणा हुन लगभग एक हप्ता लाग्छ। एजेन्सी