बारा । मतदाता नामावली समावेश गर्ने अन्तिम समय नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालय बारामा सर्भर अवरुद्ध भएपछि सेवाग्राहीहरूले दिनभरै सास्ति भोग्नुपरेको छ। कात्तिक ३० गतेसम्म मात्रै समयसीमा बाँकी रहेको अवस्थामा परिचयपत्र बनाउने, नाम समावेश गर्ने, विवरण सच्याउने तथा स्थान परिवर्तनका लागि बिहानैदेखि नै सेवाग्राहीहरूको भीड लागेको थियो। कतिपयले त बिहान ८ बजे नै लाइन लगेका थिए। तर कार्यालय खुलेपछि केही समय काम भए पनि सर्भर निरन्तर डाउन भएपछि दर्ता तथा सच्याउने प्रक्रिया रोकिँदै गयो।
सेवाग्राहीहरू घाम, भीड र अनिश्चित प्रतीक्षाबीच दिनभर उभिन बाध्य भए। काम नहुँदा थकित र निराश बनेका धेरैजना अन्त्यमा घर फर्किनुपरेको अवस्थामा पुगे। कतिपयले आवश्यक जानकारी नदिइएको, सर्भर कहिले चल्ने स्पष्ट समय नबताइएको र वैकल्पिक उपायसम्बन्धी निर्देशन पनि नदिएको भन्दै आक्रोश व्यक्त गरे। उनका अनुसार, अन्तिम मितिमा भीड बढ्ने निश्चित हुँदा कार्यालयले व्यवस्थापन अझै सुधार्ने, सहजीकरण गर्ने र सेवाग्राहीलाई स्पष्ट जानकारी दिने व्यवस्था आवश्यक थियो।
सेवाग्राहीहरूले कार्यालयमा व्यवस्थापन कमजोर रहेको, काउण्टरको संख्या कम भएको, जानकारी दिने जनशक्ति अपर्याप्त रहेको र लाइन व्यवस्थापनसमेत व्यवस्थित नभएको आरोप लगाए। कतिपयले आफू कुन लाइनमा उभिनुपर्ने हो भन्ने नै स्पष्ट थाहा नपाएर निकै समय बिताउनु परेको बताए। यस्ता समस्याले सामान्य नागरिकलाई अनावश्यक तनाव र झन्झट निम्त्याएको कलैया उपमहानगरपालिका–८ का राम लखन चौधरीको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारी मुकेशकुमार सिंहले भने समस्या स्थानीय नभई केन्द्रस्तरमै रहेको बताए। उनका अनुसार केन्द्रमा प्राविधिक अपडेट र ब्याकएन्डमा भइरहेको कामका कारण सर्भर अवरुद्ध भएको हो।सिंहले चाँडै समस्याको समाधान हुने बताएका छन र सेवाग्राहीलाई थप सूचना उपलब्ध गराउने तयारी भइरहेको बताए।
बारामा मतदाता नामावली दर्ता, विवरण सच्याउने र स्थान परिवर्तनका लागि दैनिक सयौँ सेवाग्राही आउने गरेका छन्। अन्तिम मिति नजिकिँदै जाँदा यो संख्या झन् बढेको कार्यालयले जनाएको छ। यदि समयमै नाम दर्ता, सच्याउने वा स्थान परिवर्तन प्रक्रिया पूरा गर्न नसकिए आगामी फागुन २१ गते हुने निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाउने भएकाले सेवाग्राहीहरूको तिब्र भीड र चासो बढ्दै गइरहेको छ।
सर्भर समस्या र व्यवस्थापनको कमजोरीका कारण सास्ति बेहोर्न बाध्य भएका सेवाग्राहीहरूले समयसीमा नजिकिँदा यस्ता अवरोधले जनताले भोग्नुपर्ने कष्ट बढाइदिने भन्दै निर्वाचन आयोगलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।