पर्सा । बागेश्वर धाम सरकारद्वारा सम्पन्न हुँदै गएको सनातन हिन्दू एकता पदयात्रा 2.0 मा नेपालबाट समेत उल्लेखनीय उपस्थिति भएको छ। नेपालका विभिन्न जिल्लाबाट आएका युवा, सामाजिक अभियन्ता, पत्रकार, समाजसेवी तथा बागेश्वर धामका श्रद्धालुहरू सयौंको संख्यामा पदयात्रामा सहभागी भएका छन्।
दिल्लीको कात्यानी मन्दिरबाट सुरु भएको १० दिने १५० किलो मीटरको यो यात्रा आज बृन्दावनस्थित बाँके बिहारी मन्दिरमा पुगेर सम्पन्न हुँदैछ। भारतका विभिन्न राज्यहरूसँगै अन्य मुलुकबाट पनि लाखौं भक्तजन सहभागी भएको आयोजकहरूले बताएका छन्।
नेपालका सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा बोकेर यात्रा गरेको दृश्यले कार्यक्रममा विशेष आकर्षण थपेको छ। सो अवसरमा उनीहरूले नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्बन्ध अझ सुदृढ बनाउने सन्देश दिएका छन्।
यस पदयात्रामा बीरगंजका पत्रकार कन्हैया पटेल, राजकुमार सर्राफ र निरंजन साह को समेत सक्रिय सहभागिता रहेको छ। बागेश्वर धामका शिष्य समेत रहेका युवा अभियन्ता तथा पत्रकार कन्हैया पटेलले नेपालमा पुनः हिन्दू राष्ट्र स्थापनाको कामना गर्दै विशेष प्रार्थना गरेका छन्।
पत्रकारहरू पटेल, सर्राफ र साहले समाजमा विद्यमान छुवाछूत तथा भेदभाव अन्त्य गर्न, यमुना नदी सफा अभियानलाई समर्थन गर्न र हिन्दू समाजलाई एकताबद्ध बनाउन पदयात्रा 2.0 ले महत्वपूर्ण सन्देश दिएको बताएका छन्।
भक्तजनहरूले पदयात्रा धार्मिक चेतना, सामाजिक एकता र संस्कार संरक्षणको ठूलो अभियानका रूपमा प्रस्तुत भएको बताएका छन्।