काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भएको बताएका छन् ।
मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको बताए ।
‘राष्ट्रिय विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ र उसले आफूलाई पपुलिष्ट बनाउनको लागि श्रमिकहरूको रोजीरोटी खोस्ने काम गरेको छ’, पोखरेलले भने ।
भदौ २३ र २४ को घटना राष्ट्रको लागि अत्यन्त पिडादायी घटना भएको बताउँदै उनले कतिपयले यसलाई क्रान्तिको रूपमा परिभाषित गर्ने दुस्साहस गरेका बताए । राष्ट्रियतालाई धराशायी बनाउने काम किमार्थ क्रान्ति हुन नसक्ने पोखरेलको धारणा छ ।
नयाँ पुस्तालाई लाञ्छित गरेर जेनजीको नाममा अवसरवादी, अराजकवादी र विदेशीसँग साँठगाँठ गर्नेहरूले भदौ २३ र २४ को घटना गराएका पोखरेलले दाबी गरे । जेनजी आन्दोलन हाइज्याक गरेर अहिले तिनै तत्त्वहरूले सत्तामा हालीमुहाली गरिरहेका उनको धारणा छ ।
२३ र २४ को घटनाको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको पोखरेलले बताए । जसको परिणाम भर्खरै उठ्न लागेको देशको अर्थतन्त्र फेरि पाताल भासिएको उनले सुनाए ।
जेनजी आन्दोलनको माग सरकार समक्ष आउँदै नआएको उनले बताए । नेपालको सत्ता राजनीतिमा कुण्ठा भएकाहरूले नवयुवाको भावनामा खेल्ने प्रयत्न गर्दा राष्ट्रले कहालीलाग्दो क्षति बेहोरेको पोखरेलका धारणा छ ।
भदौ २३ र २४ को घटनाले राष्ट्रको अस्मिता, समृद्धि, सामर्थ्यमाथि आक्रमण गरेको उनले बताए ।
त्यस्तै, नेपालको शान्ति सुरक्षाको आधारस्थम्भको रूपमा रहेको नेपाल प्रहरीको देशव्यापी संरचना तहसनहस बनाउने काम सो घटनामार्फत भएको पोखरेलको भनाइ छ । प्रहरीलाई भौतिक रूपमा समाप्त गर्ने तथा नाङ्गै बनाएर लखेटेर अपमानित गर्ने काम गरिएको उनले बताए ।
बानेश्वरको घटना र अदालतहरूमा आगो लगाउने तथा जेलबाट अपराधी निकाल्ने घटनासँग कतै तालमेल नै नमिल्ने उनले बताए । त्यसैले भदौ २३ र २४ को घटना सुनियोजित थियो भन्ने कुरा पुष्टि भएको पोखरेलको भनाइ छ ।
‘२३ र २४ गतेको घटना नेपाल राष्ट्रलाई कमजोर बनाउने, लोकतन्त्र विरोधी षडयन्त्र हो’, उनले भने ।
एमाले जति बेला सङ्कट पर्दछ त्यति बेला सशक्त भएर उठ्ने पार्टी भएको बताउँदै उनले एमालेले हरेक सङ्कटको सामना गर्ने सामर्थ्य राख्ने दाबी गरे । त्यसैले एमाले फेरि जुरुक्क उठ्ने प्रयत्नमा रहेको पोखरेलले बताए ।
सत्यको पक्षमा उभिँदा कहिलेकाहीँ एक्लै परिने भए पनि एमाले त्यसको सामना गर्न तयार रहेको उनको भनाइ छ ।
‘चुनौतीबाट भाग्ने होइन, सामान गरेर अगाडि बढ्नु पर्दछ, हामी हाम्रा उद्देश्यमा सफल हुनेछौँ’, महासचिव पोखरेलले भने ।
राजनीतिक अस्थिरता अहिलेको मुलुकको प्रमुख चुनौती भएको बताउँदै उनले त्यसैको जगमा अस्थिरतावादी शक्तिले खेलिरहेका स्पष्ट पारे । त्यसलाई चिर्न देशमा राजनीतिक स्थिरता दिनुपर्ने र त्यो काम एमालेबाट मात्रै सम्भव भएको उनले बताए । अहिले अवस्था अप्ठेरो भए पनि एमाले पिठ्युँ फर्काएर नभाग्ने महासचिव पोखरेलले स्पष्ट पारे ।