वीरगन्ज, १३ मंसिर । पर्सामा शिक्षा पत्रकार समूह औपचारिक रूपमा गठन भएको छ। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा शनिबार आयोजित कार्यक्रममा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल ले समूहको घोषणा गरेका छन्।
प्रमोद यादव अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा राजेन्द्र सिंह , सचिवमा माधुरी महतो, सहसचिवमा बलिराम यादव र कोषाध्यक्षमा राजकुमारी गुप्ता रहेका छन्।
सदस्यहरू आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर, एन्जल चौधरी रहेका छन् भने सल्लाहकार समितिमा मनोज मिश्र , तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो रहेका छन्।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव ले सामुदायिक विद्यालयमा शिक्षक अभाव, विषयगत शिक्षकको कमी र भौतिक पूर्वाधारको कमीकै कारण शैक्षिक गुणस्तर अपेक्षित स्तरमा नपुगेको बताए। उनले चेतावनी दिए—
“सामुदायिक विद्यालयमा पत्रकारको नाममा युट्युबरद्वारा शिक्षकलाई त्रसित बनाउने प्रवृत्ति बढेको छ। शिक्षकलाई त्रासमुक्त वातावरणमा काम गर्न दिनु आवश्यक छ। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न राज्य, पालिका र व्यवस्थापन समितिहरूले साझा जिम्मेवारी लिनुपर्छ।”
उपप्राध्यापक डा. सुष्मा तिवारी ले २०४६ पछि शिक्षा सबै वर्ग र समुदायको पहुँचमा पुगे पनि राज्यको लगानी घटिरहेको बताइन्। उनले वीरगन्ज महानगरका ९० सामुदायिक विद्यालयमा शिक्षक अभाव, अपर्याप्त पूर्वाधार, अपांगतमैत्री वातावरण र शौचालयको दयनीय अवस्था रहेको जानकारी दिइन्। उनका अनुसार मधेस प्रदेशमा साक्षरता दर ६९ प्रतिशत मात्र रहेको छ, जुन सातै प्रदेशमा सबैभन्दा कम हो।
कार्यक्रममा शिक्षा पत्रकार समूह पर्साका अध्यक्ष प्रमोद यादव को अध्यक्षतामा, शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती प्रसाद भट्टराई को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष प्रदीप जयसवाल सहित अन्य शिक्षक र पत्रकारहरूको पनि सहभागिता रहेको थियो।
समूहले आगामी दिनमा शिक्षा क्षेत्रमा पत्रकारिताको उत्तरदायी भूमिका निर्वाह गर्दै शिक्षक र विद्यालय सुधारका विषयमा सतर्क रहनुपर्ने जिम्मेवारी लिएको बताइएको छ।
