पर्सा । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि पर्सा जिल्लाबाट चारै निर्वाचन क्षेत्र मिलाएर ३५ जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन्। जिल्ला कमिटीका सचिव महेश दासका अनुसार प्रतिनिधि चयन प्रक्रियामा ९३ जनाको उम्मेदवारी परेको भए पनि नेताहरूको पहलमा सबै क्षेत्रबाट सर्वसम्मत चयन सम्भव बनेको हो।
चारै निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि
निर्वाचन क्षेत्र नं. १ बाट डा. विशम्भर कुमार शर्मा, नवराज शर्मा, पूर्वमेयर विजय सरावगी, राजेन्द्र यादव, सबिता गिरी, बसरुद्धिन अन्सारी, मुना दाहाल, रन्जु फुयाँल र महम्मद निजाम महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
क्षेत्र नं. २ बाट मनोज कुमार कुशवाहा, उस्मान मियाँ अन्सारी, जयनारायण कुर्मी, लियाकत अली, रमीला खातुन, सीता लामा र सन्तोष कुमार पासवान चयन भएका छन्।
क्षेत्र नं. ३ बाट मेयर प्रदुमन प्रसाद चौहान, उपमेयर रुबीकुमारी ठाकुर, पूर्वमन्त्री प्रमोद जयसवाल, पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरी, उर्मीला देवी, सविना खातुन र रविकुमार गुप्ता महाधिवेशन प्रतिनिधि बनेका छन्।
त्यस्तै क्षेत्र नं. ४ बाट जालिम मियाँ, लालबहादुर श्रेष्ठ, गोकुली रेग्मी, जिल्ला उपाध्यक्ष मनोज कुमार गुप्ता, वीरन्द्र यादव, अंशु आनन्द र सुभाष कुमार साह चयन भएका छन्।
दलित संरचना पनि सर्वसम्मत
दलित कोटाबाट सुरेश पासवान, मेघराज हजरा पासवान, अनिलकुमार हजरा र परमशीला देवी पनि सर्वसम्मत रुपमा प्रतिनिधि बनेका सचिव दासले जनाएका छन्।
केपी ओली पक्षको बर्चश्व, तर मतदानमा समीकरण उल्टिन सक्ने चेतावनी
३५ जना प्रतिनिधिमध्ये धेरैजसो संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली) नजिक देखिए पनि महाधिवेशनमा नेतृत्व चयनका बेला पर्साको भूमिका फरक हुने दाबी केन्द्रिय सदस्य अरविन्द सिंहले गरेका छन्।
उनका अनुसार— “हालको संरचनाले संस्थापन पक्ष बलियो जस्तो देखिए पनि नेतृत्व चयनको मतदान हुँदा पर्साबाट १०–१२ जना प्रतिनिधि खुलेरै ओलीको विपक्षमा उभिन सक्छन्। त्यो संख्या अझ बढ्न पनि सक्छ।”
पर्साबाट चयन भएका चार केन्द्रिय सदस्यमध्ये अरविन्द सिंह मात्रै संस्थापन इतर पक्षमा छन्। पूर्वमन्त्री राजकुमार गुप्ता, पूर्व सांसद प्रभु हजरा र निर्मला देवकोटा संस्थापन नजिक मानिन्छन्।
पर्सामा सर्वसम्मत प्रतिनिधि चयन भए पनि महाधिवेशनको मतदान चरणमा ‘आन्तरिक लाइन’ बदलिन सक्ने संकेतले एमालेको आन्तरिक राजनीति फेरि चर्चामा आएको छ।