वीरगञ्ज । पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्था कमजोर रहेका एक अन्दाजी ३५ वर्षीय पुरुषलाई मानव सेवा आश्रम, वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।
आश्रमका अनुसार ती पुरुषले आफ्नो नाम–थर स्पष्ट रूपमा बताउन नसक्ने तथा मानसिक अवस्थामा असामान्य व्यवहार देखिएको सूचनापछि दिउँसो ३:१५ बजे उद्धार टोली खटिएको थियो। उद्धारपछि उहाँलाई सुरक्षित रूपमा आश्रममा ल्याइएको आश्रमले जनाएको छ।
उद्धार कार्यमा मानव सेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेन्द्र यादव तथा प्रहरी चौकी श्रीसियाका प्रहरीको सक्रिय सहयोग रहेको थियो।
आश्रममा लगतै ती पुरुषको नुहाइ–धुहाइ, सफाइ तथा प्राथमिक हेरचाह गरिएको छ। यतिबेला उहाँको स्वास्थ्यअनुसार आवश्यक औषधोपचार तथा थप उपचार प्रक्रिया आश्रमका चिकित्सक डा. भरत गोईतको निगरानीमा अघि बढाइने आश्रमले जनाएको छ।
मानव सेवा आश्रमले वीरगञ्ज लगायत देशभर बेसहारा, अशक्त तथा मानसिक स्वास्थ्य चुनौती भोगिरहेका नागरिकहरूको नियमित रूपमा उद्धार, संरक्षण र उपचार गर्दै आएको छ।