काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीले तोकेको कार्यतालिकाअनुसार पुस २८ भित्र नियमित महाधिवेशन सम्पन्न हुनेबारे गम्भीर शंका व्यक्त गरेका छन्। सोमबार संयुक्त धारणा सार्वजनिक गर्दै उनीहरूले निर्धारित समयमा महाधिवेशन हुन नसक्ने अवस्था देखिए विशेष महाधिवेशनका लागि तयार रहन सबैलाई अपिल गरेका छन्।
नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक हुनु सकारात्मक कदम भए पनि यसको उद्देश्यप्रति शंका व्यक्त गरेका छन्। सार्वजनिक धारणा पत्रमा भनिएको छ, “यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो कि वास्तवमै महाधिवेशन गर्न चाहिएको हो ? समयक्रमले नै यसको उत्तर दिनेछ।”
केन्द्रीय समितिले प्रस्ताव गरेको कार्यतालिकालाई अव्यवहारिक र अवैज्ञानिक बताउँदै नेताहरूले पुस २८ मा महाधिवेशन सक्ने भनिए पनि माघ मसान्तसम्म केन्द्रीय समितिको कार्यकाल बढाइएका कारण अधिवेशन समयमै सम्पन्न नहुने सम्भावना थप प्रस्ट भएको बताएका छन्।
अधिवेशन कुनै पनि बाहानामा अवरुद्ध गरिए असोज २९ गते दर्ता भएको विशेष महाधिवेशन प्रस्ताव विधानअनुसार पूर्ण रूपमा कार्यान्वयनयोग्य रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यदि तोकिएको समयमा महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशनका लागि तयार रहन हार्दिक आह्वान गर्दछौँ।”
नेताहरूको यस्तो प्रतिक्रिया बाहिरिएसँगै पार्टीभित्र महाधिवेशन प्रक्रियाबारे फेरि नयाँ बहस सुरु भएको छ।