वीरगञ्ज । अनुमतिपत्र लिएर सञ्चालन गरिएको Hero Exchange मेलामा वीरगञ्ज महानगरपालिकाको नगर प्रहरीले गुण्डागर्दी शैलीमा हस्तक्षेप गरेको आरोप सार्वजनिक भएको छ। प्रचार–प्रसारको लागि टेन्ट र ब्यानर हटाइदिएको, व्यापारी तथा ग्राहकलाई गाली–गालौज र बेइज्जती गरेको भिडियोसमेत सार्वजनिक भएपछि महानगरको कार्यशैलीबारे गम्भीर प्रश्न उठेको छ।
व्यवसायीहरूको भनाइअनुसार मेला औपचारिक रुपमा महानगरबाटै अनुमति लिएर सञ्चालन गरिँदै थियो। तर पनि नगर प्रहरी परिचालन गरी कुटपिटजीत शैलीमा व्यवहार गर्नु, सामाग्री उखेल्नु र ग्राहकसम्मलाई धम्की दिने काम गरिनुले प्रशासनको चरम दुरुपयोग देखिएको उनीहरूको आरोप छ।
स्थानीयवासी र व्यवसायीहरूले यस घटनाको प्रत्यक्ष जिम्मेवारी नगर प्रमुख राजेशमान सिंहकै नेतृत्व र निर्देशकीय कमजोरीमा देखेका छन्। नगर प्रहरीको यस्तो ‘मनपरी’ कार्यवाही बारम्बार दोहोरिइनुले प्रमुख सिंहको प्रशासनिक निगरानी, जवाफदेहिता र अनुशासन व्यवस्थापन क्षमताप्रति शंका उत्पन्न भएको उनीहरूको गुनासो छ।
भीडियो सार्वजनिक भएपछि नगर प्रहरीप्रतिको आक्रोश चर्किँदो छ। नियमनकारी निकायले नै व्यावसायिक वातावरण असुरक्षित बनाइदिनुले उद्यमीहरू निराश भएको बताइन्छ। व्यवसायीहरूको भनाइमा, “अनुमति दिने निकायले नै यस्तो दुर्व्यवहार गर्नु प्रशासनिक अराजकताको उदाहरण हो।”
घटनाको छानबिन र जिम्मेवारी सुनिश्चित गर्न स्थानीय व्यवसायी, सरोकारवाला तथा नागरिकहरूले नगर प्रमुख सिंहसँग स्पष्ट धारणा र कारबाहीको माग गरेका छन्।