वीरगञ्ज । पर्सा, बारा लगायतका विभिन्न जिल्लाबाट गैरकानूनी तरिकाले नेपाली नागरिकता प्राप्त गरेको आरोपमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा विभिन्न स्थानमा गरिएको प्रहरीले गरेको अनुसन्धानपछि उनीहरूलाई अलग–अलग स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये भारत बिहारका ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता काठमाडौंको शंखमुल क्षेत्रमा बस्दै आएका थिए।
त्यसैगरी बिहारबाट आएर ललितपुरको लगनखेलमा बस्दै आएका ४४ वर्षीय रामसुन्दर गुप्ता, काठमाडौंको गोंगबुमा बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता पनि पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले स्थानीय तहका सिफारिस, कागजातको जालसाजी तथा गलत विवरण प्रस्तुत गरी विभिन्न समयमा नेपाली नागरिकता लिएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई बुझाइएको छ।
हालै नागरिकता जालसाजीका घटनामा वृद्धि भइरहेका संकेत देखिएको भन्दै प्रहरीले निगरानी अझ कडा पार्ने बताएको छ। साथै, जालसाजीमा संलग्न दलाल, सिफारिस दिने व्यक्तिहरू तथा अवैधानिक प्रक्रिया सहज बनाउने समूहमाथि समेत कानुन बमोजिम कडा कारबाही अघि बढाइने प्रहरीले चेतावनी दिएको छ।