बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– ०१ स्थित पथलैया चोकमा रहेको प्रहरी चौकी पथलैयाले गत सोमबार बेलुकी करिब ७ बजे ठूलो परिमाणमा अवैधरूपमा ढुवानी हुँदै गरेको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीमा प्राप्त विशेष सूचनाका आधारमा विरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ५८५२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिल–बिजकमा लेखिएको सामग्रीभन्दा फरक सामान फेला परेको प्रहरी वरिष्ठ नायव निरीक्षक रुपेश थपलियाले जानकारी दिए।
प्रहरी वरिष्ठ नायव निरीक्षक थपलियाका अनुसार ट्रकमा कटन मार्किङ कपडा, कुर्ता सुरुवाल, कर्टन सारी, लेडिज सल, प्रिन्ट कपडा र झोलाको कपडासहित करिब ४२ लाख ५५ हजार रुपैयाँ बराबरको लत्ताकपडा लोड थियो। अवैध रूपमा लुकाइछिपाई ल्याइएका ती सबै सामग्रीसहित ट्रकलाई प्रहरीले नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ।