वीरगन्ज । भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी रोहिंग्या समुदायका व्यक्तिहरू नेपालमा गैरकानुनी रूपमा प्रवेश गरिरहेको खबर सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानाकर्षण भएको छ।
यस विषयलाई गम्भीर रूपमा लिँदै प्रशासनले बुधबार
एक सूचना जारी गर्दै वीरगन्जसहित पर्साका सबै सीमा नाका तथा क्षेत्रहरूमा सुरक्षा निकायमार्फत चेकजाँच र निगरानी कडाइ गरिएको जनाएको छ।
विभिन्न सञ्चार माध्यम तथा कार्यालयमा पुगेका ध्यानाकर्षण पत्र र ज्ञापनपत्रअनुसार, हाल सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अवैध रूपमा जिल्लामा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
यसैले सीमाक्षेत्रमा सुरक्षा संयन्त्रमार्फत कडाइ गरिएको सूचनामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले उल्लेख गरेका छन्।
जिल्लाभित्र कुनै शंकास्पद व्यक्ति प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायलाई तुरुन्त खबर गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यसैगरी, परिचय नखुलेका अपरिचित व्यक्ति वा समुदायलाई घरमा बसोबास गराउने, कुनै कामकाजमा लगाउनेजस्ता गतिविधि नगर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आमनागरिकलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ।
यसअघि मंसिर १४ गते पर्साका जेनजी युवाहरूको समूह तथा हिन्दु सम्राट सेना नेपालले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै भारतबाट लखेटिएका बंगलादेशी रोहिंग्याहरू विभिन्न नाकाबाट नेपाल प्रवेश गर्न थालेको भन्दै सीमा कडाइ गर्न माग गरेका थिए।
नेपाल–भारतबीचको खुला सीमाको दुरुपयोग बढ्दै गएका कारण मानव तस्करी, घुसपैठ तथा संगठित आपराधिक गतिविधि रोकथामका लागि कडाइ आवश्यक रहेको उनीहरूको माग थियो।
