जनकपुरधाम, मंसिर १८ । मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र बन्दै गएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश राजधानी जनकपुरधाममा राजनीतिक हलचल बढेको हो ।
दलहरूबीच छलफल, रणनीति र सम्भावित गठबन्धनका हिसाबकिताबमा सक्रियता चुलिँदै गएको अवस्थामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जीतेन्द्रप्रसाद सोनल लाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि बढाउने तयारी भइरहेको स्रोतहरूले जनाएका छन्।
विश्वासको मत लिनै लाग्दा असफल भएका तत्कालिन मुख्यमन्त्री सोनललाई पुनः मुख्यमन्त्री बनाउन तत्कालिन ६ दलिय गठबन्धनले कांग्रेसलाई मनाउने प्रयास जारी राखेका छन ।
सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरे लगतै सात दलिय मोर्चामा जुटेको कांग्रेसले मुख्यमन्त्री दावी गर्दै आएपनि जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, नेकपा सहितका दलले सोनललाई नै अघि बढाउने गरि तयारी बढाएको स्रोतले जनाएको छ । सोनललाई मुख्यमन्त्रीमा अघि बढाउन लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधवार दिनभरि विभिन्न दलका नेताहरु संग छलफल गरेका छन ।
यसबीच, एमालेले सात दलिय गठबन्धनलाई तोडन प्रयास समेत गरि रहेका छन ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रवार पाँच बजे सम्म दलहरूलाई आवश्यक हस्ताक्षर बुझाउँदै वैकल्पिक दाबी पेश गर्न आह्वान गरेका छन्। आजभोलि हुनेभएका तीव्र भेटवार्ता र छलफलहरूले मधेश प्रदेशमा नयाँ राजनीतिक मोड आउने अपेक्षा गरिएको छ।
यदि सबै दलबीच सहमति जुटेमा जीतेन्द्र सोनल नेतृत्वको नयाँ सरकार बन्ने सम्भावना अत्यधिक देखिएको छ।